जतिनै विरोध गरेपनि गठबन्धन भत्किनेवाला छैन् : अध्यक्ष नेपाल

Sharing is caring!

माघ १८, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जति नै विरोध गरेपनि गठबन्धन नभत्किने बताएका छन् । विहीबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन कतिपयलाई नपचेको भन्दै जतिनै प्रयास गरेपनि पाँच वर्षसम्म गठबन्धन चल्ने बताए ।

उनले भने, ‘यो गठबन्धन कतिपयलाई पचिरहेको छैन्, वान्ता नै भइरहेको छ । गठबन्धनको नाम सुन्ने वित्तिकै वाक्कदिक्क मान्छन् । तर उनीहरु जतिसुकै गठबन्धनको विरोधमा लागेपनि गठबन्धन भत्किनेवाला छैन् । पाँच वर्षसम्म गठबन्धन रहन्छ,’ उनले अगाडि भने,‘ गठबन्धनले मुलुकलाई राजनीतिक स्थायित्व दिन्छ र जनताको इच्छा बमोजिम अनुसार सुशासन कायम गर्छ । भ्रष्टाचारलाई नियन्त्रण गर्न कटिबद्ध छ । भ्रष्टाचारीलाई कारबाही गरोस् भन्ने कुरामा सरकार अगाडि बढोस भन्ने हाम्रो पनि चाहना छ ।’

यस्तै उनले भाषण र वाचाभन्दा परिणाममूखी काम गर्न सरकारलाई आग्रह गरेको भन्दै यसको लागि गम्भीर भएर लाग्न आवश्यक रहेको बताए । उनले भने, ‘भाषण र वाचाभन्दा परिणाममूखी काम गर्नुपर्छ र त्यसको लागि सरकारलाई आग्रह पनि गरेका छौ । विगतका गल्तीलाई समिक्षा गर्नुपर्छ । कनिका छरेजसरी बजेट छर्ने । आवश्यक नभएको योजनामा लगानी गर्ने बानी छ, आफ्नो निर्वाचन क्षेत्र र बजेटबाहेक देशको बारेमा सोच्ने सोचको अभाव छ ।’

मसानघाटबाट भूत जगाएजस्तै राजतन्त्रलाई फेरि ब्यूँताउन खोजिरहेको भन्दै यो व्यर्थको कसरत नगर्न आग्रह पनि गरेका छन् । उनले भने, ‘हराई सकेका शक्तिहरु, राजतन्त्रलाई फेरि ब्यूताउन खोजिरहेका छन्, मसानघाटबाट भूत जगाएजस्तै जगाउन खोजिरहेका छन् । तर उ जाग्नेवाला पनि छैन । केही गर्नेवाला पनि छैन् । जाग्न पनि दिदैँनौ, टिक्न पनि दिदैँनौ । त्यसकारणले व्यर्थको कसरत नगरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *