कोशीमा गठबन्धनकै सरकार बन्ने प्रधानमन्त्रीको दाबी

Sharing is caring!

असोज २७, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन्।
चितवन विमानस्थलमा पत्रकारसंग कुरागर्दै प्रचण्डले तत्काल सर्वपक्षीय सरकार बन्ने सम्भावना नरहेको पनि प्रष्ट पारे ।

‘सर्वपक्षीय सरकार बन्ने सम्भावना असम्भव छैन। तर तत्काल त्यो बन्ने अवस्था छैन। त्यहाँ (कोशी)मा गठबन्धनकै सरकार बन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

कोशी प्रदेशबाट गठबन्धनलाई राम्रै झड्का दियो हैन? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले ‘वास्तवमा त्यो एउटा समस्या त पक्कै हो। तर त्यसलाई हामीले एउटा सेटलमेन्टमा लगिएको छ। यसले अन्ततः गठबन्धनलाई बलियो हुने ठाउँतिर नै अघि बढ्छ,’ भन्ने जवाफ दिए ।

शनिबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भएको छलफलले समझदारी बनाएको भन्दै प्रचण्डले गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने बताए। कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो ।

एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे तर, सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिएका थिए ।

स–शरिर सांसद उपस्थित भएर सनाखत गरेपछि आज कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । कार्कीले आइतबार मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *