२०१५ सालदेखिका चुनावी घोषणापत्रको समीक्षा गर्दै कांग्रेस

Sharing is caring!

साउन २९, २०७५ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसअघि निर्वाचनमा व्यक्त गरिएका चुनावी घोषणापत्रको प्रतिबद्धताका विषयमा समीक्षा गर्ने भएको छ । उपसभापति विमलेन्द्र निधि प्रमुख रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले तल्लो तहसम्म लैजान तयारी गरेको नीति र प्रशिक्षणको कार्यक्रममा ०१५ सालको निर्वाचनदेखि अहिलेसम्म गरिएको चुनावी घोषणापत्रलाई समीक्षा गर्ने तयारी गरेको हो । ०१५ सालयता भएका आमनिर्वाचनदेखि स्थानीय निर्वाचनमा प्रस्तुत भएका घोषणापत्रको समीक्षा गर्ने तयारी कांग्रेसको छ ।

विगतमा गरिएका प्रतिबद्धता कति पूरा गरियो, वर्तमानमा कति काम गर्न सकियो भन्ने विषयमा समीक्षा गर्दै अब दीर्घकालीन रूपमा पार्टीले लिने नीतिलाई समयअनुकूल र थप व्यवस्थित गर्न लागेको जानकारी प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले दिए ।

दीर्घकालीन नीतिअन्तर्गत कांग्रेसे १५ सालदेखिका चुनावी घोषणापत्रमा अघि सारेका प्रतिबद्धता कति पूरा गर्न सकियो वा सकिएन भन्ने विषयमा समीक्षा गर्ने भएको छ । ‘आफ्नो सिद्धान्तअनुसार कसरी अघि बढाउने भन्नेमा हामीले प्रतिबद्धता व्यक्त गर्दै आएका छौँ,’ दाहालले भने, ‘२०१५ सालको चुनावमा गएयताका घोषणापत्रमा हामीले चुनाव जित्यौँ भने यति काम गर्छौं भनेर प्रतिबद्धता जनाएका थियौँ । तर, कति गर्न सकियो वा सकिएन सुधार गर्नुपर्ने के–के गर्नुपर्ने रहेछ भन्ने विषयमा पनि नीतिगत प्रस्टता पार्छौं ।’

हिजोको समीक्षाले कसरी परिस्कृत गर्दै जाने, वर्तमानमा के–के गरियो, विगतको अनुभवमा भविष्यको बाटो गन्तव्य हुने भन्ने बारेमा विशेषज्ञसँग छलफल गरेर नीति बनाउने उनी बताउँछन् । विगतको समीक्षाले अगाडिको बाटो पहिल्याउन र तय गर्न सहज हुने उनी बताउँछन् ।

०४६ सालको राजनीतिक परिवर्तनपछि खुला समाज, स्वतन्त्र प्रेस, फस्टाएका शैक्षिकदेखि स्वास्थ्य संस्था, बैंकिङ क्षेत्र विस्तार भएको कांग्रेसकै नीतिकै कारण भए पनि यिनीहरूलाई दिगो बनाउने र सामूहिक बनाउनुपर्ने दाहालले बताए । यसकारण पनि समयअनुकूल रूपमा नीतिगत सुधार गर्नुपर्नेमा आफूहरूले जोड दिएर कार्यक्रम तय गर्न लागेको उनको भनाइ छ । गत निर्वाचनमा कांग्रेस कमजोर हुँदा कम्युनिस्ट पार्टीहरूले झन्डै दुईतिहाइ मत ल्याएपछि अब पुरानै सोच, दृष्टिकोण र कार्यक्रमले अर्को निर्वाचनमा उनीहरूसँग प्रतिस्पर्धा गर्न नसकिने मत कांग्रेसको छ । यस्तोमा पार्टीलाई नीतिगत, वैचारिक, सांगठनिक र व्यावहारिक रूपमा प्रस्ट पार्ने चुनौती पनि उत्तिकै छ ।

कांग्रेसले नीति निर्माणमा सहयोग पु-याउन तथा कार्यकर्ताहरूलाई पार्टीको आदर्श नीति, सिद्धान्त बोध गराई सक्षम बनाउन विभिन्न क्षेत्रमा कार्यरत सिर्जनशील, बौद्धिक, व्यावसायिक जनशक्तिको सहयोगमा यस्ता कार्यक्रम गर्छ । विषयगत विचार गोष्ठी, अन्तर्संवाद, परामर्श कार्यक्रम गर्न एवं प्रशिक्षणसम्बन्धी वार्षिक कार्यक्रम बनाई पार्टी सदस्यहरूलाई निर्धारित कार्यक्रमका आधारमा प्रशिक्षण गराउने, पार्टी व्यवस्थापनसम्बन्धी सीपमूलक तालिम पनि गर्ने काम यो प्रतिष्ठानले गर्ने गर्छ । १२औँ महाधिवेशनपछि कांग्रेसका अरू विभाग सक्रिय हुन नसक्दा रामचन्द्र पौडेल नेतृत्वको प्रतिष्ठानले देशभर नीतिगत बहस र प्रशिक्षणको कार्यक्रम गरेको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *