सिंहदरबार ‘बुटिक प्रशासनिक केन्द्र’

Sharing is caring!

पुस २४, २०७५ । सरकारले  सोचेअनुसार गर्ने हो भने सिंहदरबारभित्रका मन्त्रालय एकैनासका बन्ने छन् । सबैको बाहिरी रूप एउटै बन्ने छ । २१ वटै मन्त्रालयलाई पुरानो सिंहरदरबारको मूल कला र स्वरूपसँग सुहाउने स्वरूप दिइनेछ ।

सिंहदरबारको पर्खाललाई पनि ‘कलात्मक र सुन्दर’ बनाइने छ भने पर्खालबाहिर झिलिमिली बत्ती बल्नेछ । चारै दिशाका प्रवेशद्वार कलात्मक, ऐतिहासिक र पुरातात्त्विक बनाइनेछ । संघीय प्रशासनिक केन्द्रलाई बुटिक रूप दिने सरकारको सोचाइ अधिकारीहरूले बताएका छन् ।

मन्त्रालयमा राति ‘फ्लड लाइट’ जोडिनेछ । भवनमा चुनाको साटो स्थायी रङ लगाइनेछ । भवनका छुट्टाछुट्टै पर्खाल र बगैंचा हुनेछन् । २०७६/७७ देखि एकीकृत ठेक्कामार्फत परिसरका सबै बगैंचा व्यवस्थापन गरिनेछ । सडकमा ‘रोड मार्किङ’ तथा ‘क्याट्स आई’ राख्न सुरु भएको छ । ‘सिंहदरबार ऐतिहासिक र कलात्मक देखियोस् भन्ने उद्देश्य हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदका प्रवक्ता विनोदबहादुर कुँवरले भने ।

मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा गत साता भएको सचिवहरूको बैठकले बगैंचामा सिँचाइका लागि एकीकृत सिँचाइ प्रणाली जोड्न ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

सहरी विकास मन्त्रालयले २०३० पछि बनेका भवनलाई कलात्मक र पुरानो सिंहदरबारको मूल कला सुहाउँदो बनाउने तथा सौन्दर्य थप्न थालेको छ । प्रवक्ता कुँवरका अनुसार सहरी विकास मन्त्रालयले परिसरको ‘डिजिटल ल्यान्डस्केप’ को गुरुयोजना बनाइरहेको छ ।

संग्रहालयसमेत परिसरभित्रै बनाइनेछ । सिंहदरबारभित्र उत्पादन हुने फोहोर पानी प्रशोधन प्रणाली जोडिँदै छ । टेलिफोन, केबल तथा बिजुलीका तार भूमिगत गरिनेछ । चैतभित्र परिसरभित्रका थोत्रा र पुराना भवन सफा पारिसक्ने कुँवरले बताए । चमेनागृह समेत एकीकृत हुनेछ ।

सोमबारदेखि परिसरका सडक तथा भवन पानीको फोहराबाट धुन थालिएको छ । त्यसका लागि सबै मन्त्रालयका प्रतिनिधि रहेको समिति बनाइएको छ । महानगरपालिकासँग सहकार्य गरी बिहान ७ देखि १० बजेसम्म हरेक दिन दुइटाका दरले भवन फोहराबाट सफा गरिनेछ ।

प्रधानमन्त्री कार्यालयले सिंहदरबारका भुस्याहा कुकुर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ । परिसरमा रहेका प्रिफयाब भवन भत्काएर खाली स्थानमा फूल रोप्ने, प्रधानमन्त्री कार्यालय र परिसरमा रहेका बाटिकामा प्रकाश मिलाउने र हिउँदयामका फूल रोप्न थालिएको छ ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *