१० लाख स्मार्ट लाइसेन्सको ठेक्का हुँदै

Sharing is caring!

बैशाख १२, २०७६ । सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को ठेक्का सम्झौता गर्ने भएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो । यातायात व्यवस्था विभागले ७ वैशाखभित्रै ठेक्का सम्झौता गर्ने जानकारी दिए पनि ढिला गरी सम्झौता हुन लागेको हो । भारतीय चुनावका कारण कम्पनीका अधिकारीहरू काठमाडौं आउन ढिला भएकाले सम्झौता गर्ने अवधि लम्बिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

बोलपत्र स्वीकृत गरी पत्र दिएको १५ दिनमा अनिवार्य सम्झौता
विभागले सार्वजनिक खरिद ऐनअनुसार मद्रास सेक्युरिटी प्रिन्टर्सको बोलपत्र प्रस्ताव स्वीकृत गरेपछि ७ दिनभित्र छनौटमा परेको कम्पनीलाई सम्झौता गर्न आउनको लागि पत्र दिनुपर्छ । विभागले २७ चैतमा बोलपत्र स्वीकृत गरेको थियो । तर, कम्पनीलाई पत्र पठाएको भर्खर पाँच दिन भएको र अझै १० दिन बाँकी रहेको यातायात व्यवस्था विभागका निर्देशक श्रीलाल साहले जानकारी दिए । पत्र  दिएका १५ दिनभित्र अनिवार्य सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ । तर, त्यस अवधिमा उजुरी परेको खण्डमा भने म्याद बढ्नेछ । अहिलेसम्म मद्रासलाई ठेक्का दिनेबारे गुनासो वा उजुरी नआएको विभागका अधिकारीहरूको भनाइ छ ।

सबैभन्दा कम कबोल गर्ने मद्रासले पायो ठेक्का
विभागले १० लाख स्मार्ट लाइसेन्स र एउटा मास प्रिन्टरका लागि ३४ करोड रुपैयाँ लगत इस्टिमेट गर्दै अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरेको थियो । सबैभन्दा कम रकम कबोल गर्ने मद्रासले ठेक्का पाएको हो । मद्रासले १९ करोड ७० लाखमा प्रस्ताव गरेको थियो ।

फ्रान्सको आइडिमिया (आइडिइएमआइए) कम्पनीले लगत इस्टिमेटको १ दशमलव शून्य ६ प्रतिशत बढी र फ्रान्सकै अर्को कम्पनी सेल्प (एसइएलपी)ले २९ दशमलव ३४ प्रतिशत बढीमा ठेक्का प्रस्ताव गरेको थियो । ठेक्का प्रक्रियामा तीन कम्पनी मात्र सहभागी थिए ।

७५ दिनमा स्मार्ट लाइसेन्स दिने गरी सम्झौता 
विभागका अनुसार सम्झौता भएको साढे २ महिना (७५ दिन)भित्र प्रिन्ट मेसिन र कार्ड उपलब्ध गराउने गरी सम्झौता हँुदै छ । स्टक रहेका कार्डको संख्या न्यून भएकाले ७५ दिनको अवधि राखिएको महानिर्देशक दाहालले बताए । तर, अहिलेसम्मको स्टक हेर्दा जेठ पहिलो सातादेखि नै कार्ड अभाव हुनेछ । विभागले भने आवेदकको संख्यामा घटाएर भए पनि असार १५ सम्म पु¥याउने तयारी गरेको छ । यस्ता अन्तर्राष्ट्रिय ठेक्कामा सम्झौतापछि १ सय २० दिन (४ महिना)मा सामान उपलब्ध गराउने चलन हुन्छ ।

अहिलेसम्म ११ लाख ३० हजार कार्ड खरिद, ९ लाख प्रिन्ट
विभागका अनुसार अहिलेसम्म एसियाली विकास बैंक र मद्रास प्रिन्टर्ससँग गरी ११ लाख ३० हजार स्मार्ट लाइसेन्स खरिद गरिसकिएको छ । त्यसमध्ये ७ लाख ५० हजार स्मार्ट लाइसेन्स प्रिन्ट गरी वितरण सकिएको छ । त्यस्तै, १ लाख ५० हजार कार्डको प्रिन्ट भइसकेको छ ।

बाँकी २ लाख ३० हजार कार्डमध्ये ३० हजार कम्पनीबाट प्राप्त गर्न बाँकी छ । १८ हजार कार्ड खेर गएका छन् । स्टकमा १ लाख ८३ हजार कार्ड छन् ।
५ लाख २४ हजारजना ट्रायल पास गर्नेहरू लाइसेन्सको पर्खाइमा सवारीचालक अनुमतिपत्रका लागि ट्रायल पास गरी स्मार्ट लाइसेन्स पाउने रसिद लिएर बस्नेको संख्या ५ लाख २४ पुगिसकेको छ । अहिले वितरण क्षमताअनुसार दैनिक औसतमा ३ हजार थपिने गरेका छन् । तर, वितरण प्रणाली प्रभावकारी नहुँदा ट्रायल पास गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

असारदेखि समस्या रहँदैन : महनिर्देशक, यातायात व्यवस्था विभाग 
स्मार्ट लाइसेन्स अभाव हुन नदिन अधिकतम प्रयास  गरिरहेका छौँ । स्टक कार्डको संख्या कम हुँदै गएको छ । रसिद लिएर स्मार्ट लाइसेन्सको पर्खाइमा बस्नेको संख्या बढिरहेको छ । तर, असारदेखि ट्रायल पास गरेको १ साताभित्रै स्मार्ट लाइसेन्स वितरण गर्ने गरी काम गरिरहेका छौँ । कुनै अवरोध नआए सो समयमा पूरा गर्छौँ ।यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *