सेयरका सबै कारोबार अनलाइनबाट

Sharing is caring!

कात्तिक २०, २०७५ । सेयर करोबारलाई पूर्ण स्वचालित प्रणालीबाट सञ्चालन गर्ने आधा दशकअघि देखिको प्रयास सार्थक बनेको छ । सेयर कारोबार मंगलबारदेखि अनलाइन प्रणालीबाट हुने भएपछि वर्षौंदेखिको यो प्रयास सफल बन्ने भएको छ ।
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेन्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको हो । यो प्रणाली कार्यान्वयनमा आएपछि व्यक्तिले आफ्नो आवश्यकता र चाहनाअनुरूप आफैंले सेयर खरिदबिक्री आदेश जारी गर्न सक्छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले सेयर करोबार पूर्ण स्वचालित प्रणालीबाट सञ्चालन हुने जानकारी दिए । अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले आवश्यक तयारी पूरा गरिसकेको छ ।
स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले सेयर करोबार अनलाइन प्रणालीमार्फत सुरुवात गर्न लागिएको जानकारी दिए । तर, सेयर कारोबार गर्न चाहने लगानीकर्ताले स्टक ब्रोकर व्यवसायीकहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता भने खोल्नुपर्नेछ । यस्तो खाता खोलेपछि भने इन्टरनेटमार्फत जुनसुकै स्थानबाट पनि कारोबार गर्न सकिनेछ ।
स्टकका प्रवक्ता पराजुलीका अनुसार सेयर कारोबारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसहित नयाँ प्रविधि जडान गरिएको हो । हाल सेयर कारोबार गर्न चाहनेले धितोपत्र ब्रोकर व्यवसायीको कार्यालयमा धाउनुपर्ने बाध्यता छ ।
स्टकले गत १ साउनदेखि पूर्ण स्वचालित अनलाइन प्रणाली परीक्षण गरिरहेको थियो । यो प्रणालीमा जान धितोपत्र ब्रोकर व्यवसायीले समेत आवश्यक तयारी गरिसकेका छन् ।

नयाँ प्रणालीको जडानसँगै कारोबार गर्दै आएका लगानीकर्ताले ब्रोकरमार्फत ‘युजरनेम र पासवर्ड’ प्राप्त गर्नेछन् । त्यसका लागि ब्रोकरलाई व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ । व्यक्तिगत विवरणका लागि ई–मेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको स्टकले जनाएको छ ।
सेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई सहयोग पुग्नेगरी सेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको छ । उसले कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत सिधै भुक्तानी हुने व्यवस्था मिलाइएको छ ।
पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रूपमा बढ्दै जाने र सो प्रणाली नेपालको पुँजी बजारको कोसेढुंगा साबित हुने विश्वास लगानीकर्ताको छ ।

लगानीकर्ताले सेयर खरिद गरेबापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आईपीएसको वेबसाइटमा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैंक खातामा रकमान्तर गर्न सक्नेछन् ।
स्टकका अनुसार हालसम्ममा यस प्रणालीमा ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९ गरी १२ वटा ब्रोकर कम्पनी आबद्ध भइसकेका छन् । अन्य ब्रोकरलाई पनि यस प्रणालीमा आबद्ध गराउनेक्रम जारी रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीमार्फत सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेट फन्ड लोडजस्ता कारोबार सञ्चालनमा ल्याइसकेको छ ।
कनेक्ट आईपीएस प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाले सम्झौता गरिसकेका छन् । त्यसमध्ये हालसम्म ३४ वटा बैंक वित्तीय संस्थाले यो सेवा दिइरहेका छन् । सुरुमा ‘ओपन क्राई’ सिस्टमबाट सञ्चालन हुँदै आएको सेयर कारोबार हालसम्म अर्धस्वचालित तरिकाले सञ्चालन हुँदै आएको छ ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *