सरकारले नभत्काए जनताले छाँया सेन्टर भत्काउनेछन्–ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनस्स्थापना अभियानकर्ता

Sharing is caring!

पुस २८, २०७६ । ठमेलस्थित ऐतिहासिक सम्पदा कमलपोखरी गैरकानुनी तरिकाले मासेर छाँयादेवी कम्प्लेक्स बनाइएको भन्दै अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत गणतान्त्रिक सरकारले मौनता साँध्नु लज्जास्पद हो भन्दै जनताको शक्तिले त्यसलाई भत्काउनसक्ने बताए । अभियानको आन्दोलन जारी रहेको भन्दै छायाँ कम्प्लेक्स कसैले बचाएर बचाउन नसक्ने स्पष्ट पारे ।

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनस्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले छायाँदेवी कम्प्लेक्स निर्माण भएको स्थानमा ऐतिहासिक कमलपोखरी रहेको तथ्य प्रस्तुत गर्दै त्यसलाई भत्काएरै छाड्ने बताए । अध्यक्ष प्रधानले १५ हजार व्यक्तिको हस्ताक्षर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकिएको जानकारी दिदै सम्पदामाथिको अतिक्रमणविरुद्ध कडा कदम चाल्न पछि नहट्ने बताए ।

उनले भने, ऐतिहासिक पुरातात्विक कमलपोखरी रहेको ठाउँमा जसरी छायाँ कम्प्लेक्स बनाइएको छ त्यो सरकार नभत्काए जनताले भन्काउनेछन् । आफूहरु छायाँ कम्प्लेक्सबारे अदालतको फैसला कुरेर बसेको भन्दै त्यसपछि निर्णयमा पुग्ने बताए । अदालतमा वर्षौं देखि न्यायको लडाईं लडिरहेको भन्दै कमलपोखरी कब्जा गर्नेहरुलाई कदापि सफल हुन नदिने बताए ।

भवन बनाउँदा लाग्दा आफूहरुले रोक्नका लागि सिंहदरबार देखि काठमाडौं महानगरपालिका, पुरातात्विक विभागलगायतका ठाउँहरुमा आवाज उठाउँदा पनि सुनुवाई नभएको खुलाए । उनले भने, राज्यमा पहुँच र प्रभावको दुरुपयोग गरी ऐतिहासिक पोखरी माँसेर छायाँ कम्प्लेक्स बनाइयो । गणतन्त्रमा सांस्कृतिक सम्पदा माँस्दा पनि जिम्मेवार नेताहरु मौन बस्नु हाँस्यास्पद हो ।

पोखरी माँस्न मनी र मसलको प्रयोग भएको भन्दै जनताको शक्तिका अगाडि त्यसको केही नचल्ने बताए । पोखरी माँसेर बौद्ध धर्मालम्बी स्थानीय नेवार समुदायको संस्कृतिमाथि आक्रमण गरिएको उनको आरोप थियो । जनताको विरोधका बाबजुद छायाँ कम्प्लेक्स उद्घाटनका लागि वर्तमान पर्यटनमन्त्री योगेश भट्टराई पछाडिको ढोकाबाट पुगेको घटना रेकर्डमा रहेको भन्दै उनीपनि जनताबाट अबको चुनावमा अस्वीकृत हुने चेतावनी दिए ।

कार्यक्रममा प्रेस विज्ञप्तिमार्फत् अभियानका संयोजक भागवतनरसिंह प्रधानले ऐतिहासिक पोखरी रहेको तथ्य र प्रमाणहरु प्रस्तुत गरेका थिए । छायाँ कम्प्लेक्स बनेपछि त्यसको विरोधमा संसदमा समेत आवाज उठेको भन्दै न्यायका लागि सबैले दबाब दिनुपर्नेमा जोड दिए । उनले भने, सम्पदा जोगाउन सकिएन भने हामी कोही पनि जोगिदैनौं, त्यसैले सम्पदाविरोधीलाई घुँडा टेकाउने अभियानमा सबै आ आफ्नो स्थानबाट लागौं । चलखेल, दाउपेच र गुण्डागर्दीको बलमा छायाँ कम्प्लेक्स बनाइएको प्रधानले बताए । उनले भने, राणा शासनमा पनि नभएको गतिविधि गणतन्त्र नेपालमा हुनु लाजमर्दो विषय हो ।

अभियानका सल्लाहाकार सुधन शाक्यले सांस्कृतिक सम्पदामाथि अतिक्रमण देखि हडप्ने गतिविधि भइरहेकोमा सबै सचेत हुनुपर्ने बताए । आफूले देखेको पोखरी हडपेर छायाँ कम्प्लेक्स बलजफ्ती बनाइएको भन्दै त्यसलाई कुनै हालतमा भत्काउनुपर्ने बताए । संस्कृति माँस्ने क्रम जारी रहे टुँडिखेल पनि नरहने उनको भनाई थियो । शाक्यले भने, सांस्कृतिक सम्पदामाथि गणतन्त्रात्मक सरकारकै पालामा प्रहार भइरहेको छ । देशमा राणा शासनको अन्त नभएको महशुश भइरहेको बताए ।

पुरानो पोखरीमा बनेको नयाँ महल अशोभनिय मात्र नभई अराजकताको पराकाष्ठ भएको ठमेलका स्थानिय नरेश श्रेष्ठले बताए । उक्त ठाँउमा पहिला फागुपुर्णिमामा सात दिन सम्म मेला लाग्ने पनि उनले जानकारी दिए । उनले सम्पदा मासिदै राजनितिकरण, व्यापारीकरण हुदै गएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा सभापति श्रीकृष्ण मानन्धरले आफुलाई नेपाली हु भन्न राष्ट्रको सम्पदा बचाउन र छाँया सेन्टर भत्काउन सबैमा आग्रह गरेका थिए ।
अभियानका सचिव पेम्बा शिल्पकारले राष्ट्रिय सम्पदा माथि गरिएको अन्यायलाई जसरी पनि न्याय दिने दृढटा व्यक्त गरे । उनले छाँयासेन्टरलाई भत्काइ छाड्ने चेतावनी समेत दिएका छन् ।

त्यस्तै छाँया सेन्टरबाट आफू पिडित भएको भन्दै पञ्चलाल मर्हजनले जालसाजीमा पारिएको बताए । आफूले छायाँ सेन्टरमाथि गृह मन्त्रालयमा उजूरी दिने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *