सरकारको नेतृत्व ओलीले र पार्टीको नेतृत्व प्रचण्डले गर्नुहुन्छ: मणि थापा

Sharing is caring!

भदौ २९, २०७६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन हुनेपनि बताए । उनले भने,‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ । यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’

उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको सुनाए । उनले भने,‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं । हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं ।’

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले भने,‘जनताले आफूले भनेजस्तो अनुभुति गर्न नसकेको कुरा केही सत्य हो । तर, गणतन्त्रलाई असफल बनाउने कोशिश भैरहेको छ । गणतन्त्रको विकल्प छैन् । यसमा पनि केही कमिकमजोरीहरु छन् । भएका कमजोरीहरुलाई सुधार गरेर जानुपर्छ ।’

उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको सुनाए । जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने उनको विश्वास छ । त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको सुनाए । उनले भने,‘अहिलेपनि अराजकताका स्वर सुनिएका छन् । यी सबैलाई संविधानको भावानाअनुसार समझदारीमा ल्याउन आवश्यक छ ।’
विप्लव समूहसँग अघोषित रुपमा सरकारले वार्ता गरिरहेको थापाले जनाए । उनले भने,‘विप्लवसँग वार्ता गर्नुपर्छ भन्ने नै हाम्रो नीति हो । अघोषित रुपमा वार्ता भैरहेको छ ।’
त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार मौलाएको भनेरपनि आवाज सुनिएको सुनाए । उनले भने,‘केही हदसम्म यो प्रवृत्ति देखिएको छ । हाम्रो पार्टी यो विषयमा गम्भिर छ । हामी भ्रष्टाचारमा शून्य सहनसिलता अपनाएर अघि बढिरहेका छौं ।’ उनले सरकार अब सही ट्रयाकमा अघि बढ्ने पनि स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *