समृद्धिमा सघाउँछौं: सी

Sharing is caring!

बैशाख १७, २०७६ । चिनियाँ राष्ट्रपति सी चिनिफिङले राजनीतिक स्थायित्व र आपसी सहकार्यबाट नेपालको समृद्धि यात्रा सफल हुने बताएका छन् । नेपालको राजनीति, स्थायित्व र विकासक्रमलाई नजिकबाट नियालिरहेको स्पष्ट पार्दै उनले समृद्धि यात्रामा सघाउन चीन सधैं तत्पर रहेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार बेइजिङस्थित चिनियाँ बृहत् जनसभा भवनमा भएको औपचारिक भेटवार्तामा सीले यस्तो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति सीले चीन र नेपालबीच युगौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले भने, ‘दुई देशका जनताको मन मिलेको छ र सहकार्य हुँदै आएको छ ।’ सीले नेपाल–चीन सम्बन्ध राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भूभागको अविच्छिन्नताको संरक्षण गर्न अनुकूल रहेको बताए । बीआरआई परियोजनामा नेपालको चासो समेटिएकाले अब सहकार्य अघि बढ्ने विश्वास उनको थियो । दुई देशले पूर्वाधार क्षेत्रमा सहयोग बढाएर नेपाल–चीन सीमापार आर्थिक सहयोग बढाउने उनले बताए । नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनको समर्थन रहिरहने पनि उनले स्पष्ट पारे । राष्ट्रपति सीले भने, ‘हामीबीच दल, युवा, थिंक ट्यांक, सञ्चारमाध्यम आदि क्षेत्रमा अनुभव आदानप्रदान हुनुपर्छ ।’

भोटवार्तामा राष्ट्रपति भण्डारीबाट बीआरआईको सफलताप्रति सीलाई धन्यवाद व्यक्त भएको थियो । ‘चीनको समृद्धि र स्थिरता नेपालका लागि मौका हो । हामी एक चीन नीतिमा अडिग रहेर सहकार्य अघि बढाउनेछौं,’ राष्ट्रपतिको भनाइ थियो ।

राजसंस्था औपचारिक अन्त्य गरेको दशकपछि उत्तरी छिमेकी चीनले नेपालका राष्ट्र प्रमुखलाई बेइजिङको बृहत् जनसभा भवनमा पहिलोपटक स्वागत गरेको हो । दुई राष्ट्रपतिको उपस्थितिमा सोमबार पारवहन तथा यातायातको प्रोटोकलमा हस्ताक्षर भएको छ । प्रोटोकलमा हस्ताक्षरसँगै नेपालको समुद्रसम्मको अर्को ढोका खुलेको छ ।

राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुअघि त्यहाँ नेपाली राष्ट्रिय धुन घन्किएको थियो । यस्तै, राष्ट्रपति भण्डारीलाई २१ तोपको सलामी (गार्ड अफ अनर) अर्पण गरिएको थियो । नेपाली राष्ट्रपतिको पहिलो राजकीय भ्रमण भएकाले चीनले विशेष महŒव दिएको हो ।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *