सञ्चय कोषको लगानी ३३८ अर्ब

Sharing is caring!

असोज १, २०७६ । कर्मचारी सञ्चय कोषले विभिन्न क्षेत्रमा रू. ३ खर्ब ३८ अर्ब ६ करोड लगानी गरेको छ । उक्त रकममध्ये करीब ५३ प्रतिशत अर्थात् रू. १ खर्ब ७९ अर्ब १७ करोड सञ्चयकर्ताले नै सापटी लिएका छन् । सञ्चयकर्ताले घर बनाउन र गाडी किन्नका लागि यस्तो सापटी लिएका हुन् ।

गत असार मसान्तसम्म सञ्चय कोषमा करीब ६ लाख सञ्चयकर्ता मार्फत रू. ३ खर्ब ४५ अर्ब ६९ करोड रकम जम्मा भएको छ । कोषले त्यसमध्ये ९८ प्रतिशत रकम विभिन्न क्षेत्रमा लगानी गरेको हो । बाँकी रहेको २ प्रतिशत रकम भने विविध सम्पत्ति तथा बैंक मौज्दातमा रहेको कोषले बताएको छ ।

कुल लगानीमध्ये कोषले १६ प्रतिशत अर्थात् रू. ५४ अर्ब ८ करोड ऊर्जा, पूर्वाधार लगायतका परियोजनामा लगानी गरेको छ । कोषका अनुसार जलविद्युत् आयोजनामा मात्र रू. ३० अर्ब लगानी छ । अपर तामाकोसीमा १२ अर्ब रुपैयाँ लगानी गरेकोमा अहिले पूँजीकृत भएर सो रकम रू. २१ अर्ब पुगेको छ । यसैगरी कोषले रसुवागढी, सान्जेन जस्ता जलविद्युत् आयोजना र होङ्सी सिमेन्टमा पनि लगानी गरेको छ ।

गत आवको तथ्यांक अनुसार कोषले मुद्दती निक्षेपमा रू. ७७ अर्ब ७५ करोड राखेको छ, जुन कुल लगानीको २३ प्रतिशत अंश हो । यस्तै, अन्य क्षेत्रहरूमा रू. २७ अर्ब ४ करोड लगानी गरेको कोषको भनाइ छ । मुलुकको ठूलो वित्तीय स्रोत परिचालन गर्ने संस्थाको रूपमा सञ्चय कोषलाई पनि लिइन्छ ।

कोषका प्रशासक तुलसीप्रसाद गौतमका अनुसार रू. २५ अर्ब बराबरको रकम २० बैंक तथा वित्तीय संस्थाको शेयरमा लगानी छ । कोषले हिमालयन, एसबीआई, एनएमबी, सानिमा लगायत बैंक तथा राष्ट्रिय बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्समा पनि लगानी गरेको छ ।

कोषले उक्त लगानी तथा ऋणहरूबाट गत आवमा रू. २९ अर्ब ५३ करोड आम्दानी गरेको छ । यसबाट सञ्चयकर्तालाई दिने ब्याज तथा सञ्चालन खर्च कटाउँदा रू. ३ अर्ब ७५ करोड खुद नाफा हुने बताइएको छ । उक्त रकम सञ्चयकर्ताको सामाजिक सुरक्षा सुविधा तथा मुनाफा वितरणमा उपयोग गरिने छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *