तल्ला तहका सैनिकको गुनासो सुनुवाइ, मिसनमा जाने सैनिकको तलब बढ्यो

Sharing is caring!

असोज १, २०७६ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।  तल्ला तहका सिपाहीसहित अधिकृतहरूबाट गुनासो आएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले सकल दर्जाको गुनासो सुनुवाइ गर्दै मिसनमा सहभागी हुने सैनिकको भत्ता बढाउने निर्णय गरेका हुन् । थापाको अध्यक्षतामा सोमबार सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकले प्रतिव्यक्ति तलबमा ८५ अमेरिकी डलर (करिब ९ हजार पाँच सय रुपैयाँ) थप गर्ने निर्णय गरेको हो ।

यसअघि प्रतिमहिना १ हजार २९ अमेरिकी डलर पाउँदै आएकोमा अब शान्ति सेनामा सहभागी सैनिकले ८५ डलर थप गरी प्रतिमहिना १ हजार ११४ अमेरिकी डलर प्राप्त गर्नेछन् । सो रकम नेपाली रुपैयाँ १ लाख २७ हजार बराबर हुन आउँछ ।
बैठकले मिसनमा गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीको समेत तलब बढाएको छ । प्रमुख सेनानीले प्राप्त गर्ने गरेको १ हजार ३ सय ७८ अमेरिकी डलर भत्तामा २१ डलर थप गरी १ हजार ३९९ पु¥याइएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बढेको भत्ता आगामी १४ असोज (१ अक्टुबर)देखि लागू हुने जानकारी दिए ।
प्रधानसेनापति थापाले गत साता जंगी अड्डामा सकलदर्जालाई गरेको सम्बोधनका क्रममा समेत मिसनमा जाने सैनिकको तलब वृद्धि गर्न माग गरिएको थियो । चौथो त्रैमासिक रोलकलका बखत सो विषयमा प्रधानसेनापतिमाथि सकलदर्जाबाट सो सुझाव आएको थियो ।

सैनिक प्रवक्ता पाण्डेले अन्य मुलुकको प्रचलित अभ्यास एवं सैनिक ऐन, सैनिक कल्याणकारी नियमावलीको परिधिभित्र रही भत्ता पुनरावलोकन गर्ने सम्बन्धमा कार्यदल गठन गरी सकल दर्जाबाट प्राप्त राय सुझावका आधारमा सेनाले भत्ता वृद्धि गर्ने निर्णय गरेको जनाए । संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली शान्ति सेनाले हालसम्म विश्वका ४३ वटा मिसनमा रही १ लाख २७ हजार ३९५ जनाले शान्ति स्थापनार्थ योगदान दिइसकेका छन् । सो क्रममा ६५ जना नेपाली शान्ति सैनिकले वीरगतिसमेत प्राप्त गरेका छन् भने ६६ जना गम्भीर घाइते भएका छन् ।
हाल विश्वका ११ वटा द्वन्द्वग्रस्त मुलुकका १२ मिसनमा ५ हजार ९५ नेपाली शान्ति सैनिक खटिरहेका छन् । जसमा १९५ महिला छन् । नेपाल शान्ति सैनिक खटाउने मुलुकको सूचीमा हाल पाँचौं स्थानमा छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *