विश्वकपकाे पहिलाे चरण: बलिया देश नै दबाबमा

Sharing is caring!

असार ६, २०७५ । रुसमा जारी २१औं विश्वकपअन्तर्गत समूह चरणका पहिलाे खेल अाजबाट सकिँदैछ । उपाधिका बलिया दावेदार भनिएका अधिकांश देशका निम्ति पहिलाे चरण सुखद बन्न सकेन ।

उपाधिको प्रमुख दाबेदार साविक विजेता जर्मनी मेसिक्कोसँग १–० ले पराजित भयो । त्यस्तै, उपाधिका दावेदार ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल अा–आफ्नो पहिलो खेलमा बराबरीमै चित्त बुझाउन बाध्य भए ।

फ्रान्स भने संघर्षपूर्ण खेलमा २–१ ले विजयी भयो । तर, त्यसले फ्रान्सेली समर्थकमा उत्साह भर्न सकेन ।

समूह चरणका ११ खेलमध्ये रुस–साउदी अरेबिया र स्पेन–पोर्चुगलबीचको खेलबाहेक सबै खेलमा स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन् । यहीकारण ठूला राष्ट्र दबाबमा परेका हुन् ।

जर्मनीलाई समूह चरणबाटै बाहिरिने डर
पछिल्ला चार विश्वकपमा तीनपटक साविक विजेता समूह चरणबाटै बाहिरिएका छन् । आइतबार राति भएको खेलमा मेक्सिकोसँग १-० ले पराजित भएपछि साविक विजेता जर्मनी पनि समूह चरणबाटै बाहिरिने भयबाट मुक्त हुन सकेन ।

सन् १९९८ को विजेता फ्रान्स सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको १७अाैँ विश्वकपकाे समूह चरणबाटै बाहिरिएको थियो ।

सन् २००६ को विजेता इटाली पनि सन् २०१० मा दक्षिण अफ्रिकामा अायाेजना भएकाे १९औं विश्वकपको समूह चरणबाटै बाहिरियो ।

त्यसैगरी, सन् २००८ को युरोकप र २०१० को विश्वकप उपाधि लगातार जितेको स्पेन २०१४ मा ब्राजिलमा अायाेजनाभएको २०औं विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो ।

सन् २००२ मा फ्रान्स सेनेगलसँग र सन् २०१४ मा स्पेन नेदरल्यान्ड्ससँग समूह चरणको पहिलो खेलमै पराजित भएका थिए ।

किन चुक्यो जर्मनी ?
साविक विजेता जर्मनीलाई १–० ले पराजित गर्दै उपाधि रक्षाको अभियानमा मेक्सिकोले धक्का दिएको । ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा बनाएको जर्मनीले २५ पटक गोलका लागि प्रयास गरेको थियो । तर, त्यस अवसरलाई गाेलमा परिणत गर्न नसक्दा पहिलो खेलमै पराजय बेहोर्न बाध्य भयो ।

थोमस मुलर, मेसुट ओजिल, मार्को रिउस, टोनी क्रुस जस्ता स्टार फरवार्ड र मिडफिल्डर हुँदा पनि जर्मनीले काउन्टरमा विपक्षीमाथि दबाब बनाउन सकेन ।

यो सिजन म्यान्चेस्टर सिटीलाई प्रिमियर लिग उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका एट्याटिङ मिडफिल्डर लेरोय सानेको अभाव जर्मनी टिममा स्पष्ट खड्कियाे ।

जर्मनीले विश्वकपका लागि घोषणा गरिएको अन्तिम टोलीमा साने नपरेपछि प्रशिक्षक जोचिम लोको निर्णयको विरोध भयो । तर, उनले निर्णय सच्याएनन् ।

काउन्टर एट्याकमा जर्मनीलाई पटक–पटक मेक्सिकोले दबाब दियो भने खेलमा जर्मनीले एक पटक पनि काउन्टर दिन सकेन् । तीव्रगतिमा बलमा अघि बढाएर विपक्षी डिफेन्सलाई दबाबमा राख्नसक्ने साने टोलीमा नहुँदाको मूल्य जर्मनीले चुकायो । जर्मनीको यो प्रदर्शनसँगै प्रशिक्षक लोको अालाेचना झन बढेकाे छ ।

ब्राजिल, अर्जेन्टिना,  स्पेन र पोर्चुगल पनि दबाबमा
विश्वकप सुरु हुनुअघि उपाधि दावेदारका रुपमा हेरिएका पाँचपटकको विजेता ब्राजिल, दुईपटकको विजेता अर्जेन्टिना, एकपटकको विजेता स्पेन र भर्खरै युरोकप जितेको पोर्चुगल पनि पहिलो खेलमा अंक बाँड्न बाध्य भएका छन् । यसले ठूला टिममाथि मानसिक दबाब पनि थपिएको छ ।

विश्वकपअघि उत्कृष्ट प्रदर्शन गरेको ब्राजिललाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको थियो । आइतबार स्वीट्जरल्यान्डविरुद्धको खेलमा भने उसको प्रदर्शन त्यसअनुरूपको हुन सकेन ।

खेलमा बल पोजिसन राम्रो थियाे । गोलका लागि थुप्रै प्रहार भए । स्टार खेलाडी फिनिसिङमा चुके । ब्राजिललाई स्वीट्जरल्यान्डले १–१ को बराबरीमा रोक्दै अंक बाँड्न बाध्य बनायो ।

त्यसैगरी, उपाधि दावेदार मानिएको लिओनल मेसीको टिम अर्जेन्टिना तुलनात्मक रूपमा कमजोर आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो ।

डिफेन्सिभ र काउन्टरमा जोड दिएको आइसल्यान्ड आफ्नो रणनीतिमा सफल भयाे । तर, अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर पनि अर्जेन्टिना ३ अंक खाेस्न असफल बन्याे ।

पटक–पटक डिबक्सभित्र बल छिराउने अर्जेन्टिनाको प्रयास आइसल्यान्डको डिफेन्स लाइनअपले असफल तुल्याइरहेको थियो ।

डिबक्स भित्र बल पुर्याउन निरन्तर असफल भइरहँदा पनि अर्जेन्टिनाले आफ्नो रणनीति परिवर्तन गरेन । जसका कारणआइसल्यान्डको डिफेन्स अर्जेन्टिनामाथि हावी भइरह्याे ।

अर्जेटिनाले डिबक्स बाहिरबाटै पोष्टमा प्रहार गर्ने रणनीति लिएको भए गोल हुन सक्थ्यो ।

लियोनल मेसी र सर्जियो अगुएरोलाई प्रसस्त मार्किङ गरिएको अवस्थामा दोस्रो हाफमा आफ्ना दुई स्ट्राइकर गोन्जालो हिग्वेइन र पाउलो डिबालालाई मैदानमा छिराएको भए मेसी र अगुएरोले खुलेर खेल्न पाउने अवस्था सिर्जना हुन सक्थ्यो । त्यसो हुन नसक्दा दाबेदार अर्जेन्टिना पनि दबाबमा रहन बाध्य भयो ।

एउटै समूहमा रहका दुई ठूला टिम स्पेन र पोर्चुगल पहिलो खेलमै एकआपसमा भिडे । दुवैले ३–३ को बराबरी खेले । त्यही समूहकै अर्को खेलमा इरानले मोरक्कोलाई १–० ले पराजित गरेपछि स्पेन र पोर्चुगललाई दबाब थपिएको छ । डिफेन्सिभ खेल्ने इरान उनीहरूका लागि टाउको दुखाई बन्न सक्छ ।

जितपछि पनि दबाबमा फ्रान्स
विश्वपककै युवा टोली रुसमा उतारेको फ्रान्सलाई पनि फुटबल पण्डितले उपाधिको बलियो दाबेदार मानेको फ्रान्सले पनि सो अनुरुपको खेल प्रदर्शन गर्न सकेन । फ्रान्सले अष्ट्रेलियालाई २–१ पराजित गरेपनि स्वभाविक खेल पस्कन भने सकेन । फ्रान्सका मुख्य स्ट्राइकर अनुभवी एन्टोइन ग्रिजम्यान, युवा किलियन एमबाप्पे, ओसमान डेम्बेले फिनिसिङमा चुक्दा फ्रान्स दबाबमा परयो । फ्रान्सलाई अघिल्लो चरण पुग्न अझ सुधारिएको खेल प्रदर्शन गर्नु आवश्यक छ ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *