रहस्यमय बन्दै सुनकाण्ड : आरोपीलाई गोप्य भेटेर १ नम्बर प्रदेशका डिआईजी काठमाडौंमा

Sharing is caring!

वैशाख १६, २०७५ । विमानस्थलबाट हराएको ३३ किलो सुन र त्यही प्रकरणसँग जोडेर हेरिएको मोरङ उर्लावारीका सनम शाक्य हत्याका आरोपीहरुलाई १ नम्बर प्रदेशका डिआईजी ज्ञानबिक्रम साहले गोप्य भेट गरेका छन् । शुक्रवार दिउँसो १२ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालयमा रहेका उनले दिउँसो १ बजेर ४० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका बहालवाला एसपी, डिएसपी र पूर्व डिआईजीलाई गोप्य रुपमा भेटेका हुन् ।

डिआईजी साह काठमाडौं जाने क्रममा आफ्नो प्रदेश कार्यालयबाट निस्किएर जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । त्यो बेला मोरङका एसपी अरुणकुमार बिसी कार्यकक्षमा नभएको बताइएको छ । डिआईजी साह १ बजेर ४० मिनेटमा जिल्ला प्रहरी कार्यालयमा पुगेर त्यहाँ करीब आधाघण्टा बसेर हिँडेका थिए । उनले पूर्ब डिआईजी गोबिन्द निरौला, प्रहरी उपरिक्षक (एसपी) विकासराज खनाल तथा प्रहरी नायव उपरिक्षक (डिएसपी) सञ्जय राउतसँग मोरङका एसपी अरुणकुमार बिसीको कार्यकक्षमा भेट गरेको श्रोतले बताएको छ ।

डिआईजी साह सादा पोशाकमा पुगेका थिए । डिआईजीले भेटेको बारेमा मोरङका प्रहरी अधिकृतहरुले जानकारी नभएको प्रतिक्रिया दिएका छन् । हिरासतमा रहेका डिएसपी, एसपी र पूर्ब डिआईजीलाई संगठित अपराध, मानव अपहरण तथा कर्तब्य ज्यान मुद्दामा बिहीवार मात्र म्याद थप गरेर थुनामा राखिएको थियो । म्यादथप भएका उनीहरुलाई डिआईजीले एसपी बिसी नभएको बेला किन गोप्य भेटे भन्ने बारेमा केही खुलेको छैन् ।

सुनकाण्डमा प्रहरीले अहिलेसम्म २७ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको बेलामा यसरी भएको गोप्य भेटलाई विशेष चासोका साथ हेरिएको छ । यो खबर आजको आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *