‘हजार र ५ सयका नोटबन्दीमा कांग्रेसको पहल जरुरी’

Sharing is caring!

फागुन ५, २०८० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादनको बैठकमा महामन्त्रीले पेस गरेको कार्यपत्रको भाषा शुद्ध, सुन्दर र परिस्थितिको मूल्यांकन गरेर गरेको भए पनि आशा जगाउन पर्याप्त नभएको बताए । कांग्रेसले अहिले देखिएको आमूल समस्याको सम्बोधन गर्नुपर्नेमा नेता केसीले जोड दिए ।

‘आमजनतालाई नेता र मन्त्रीसँग धेरै पैसा छ भन्ने परिरहेको छ । साथै लोक रिझाइ पनि त्यसरी नै गरेका छन्, त्यसकारण कांगे्रसले १ हजार र ५ सय दरका नोटलाई नोटबन्दी गर्ने पहल थाल्नुपर्छ,’ नेता केसीले भने । त्यस्तै, नेता केसीले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने र समानुपातिक प्रणाली हटाउनुपर्नेमा जोड दिए । यदि, समानुपातिक निर्वाचन प्रणाली राख्नैपर्ने भए, त्यो राष्ट्रिय सभामा राखिनुपर्ने बताए । राष्ट्रिय सभामा संघीय सांसद् संख्या घटाउनुपर्ने नेता केसीको भनाइ छ ।

नेता केसीले वर्तमान संविधानलाई संशोधन गरी गोलमेच सम्मेलन गर्नुपर्ने र आवश्यकता परे कुनै पनि विषयमा जनमतसंग्रह गर्न पनि तयार हुनुपर्ने बताए । नेपाली कांग्रेसले २०४६ सालपछि २५ वटा सरकारको नेतृत्व गरिसकेको तर ठोस उपलब्धि के भयो भन्ने कुरा जनतामा बुझाउन नसकेको उनको भनाइ छ । २५ वटा सरकारमध्ये गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पाँचवटा, शेरबहादुर देउवाको नेतृत्वमा पाँचवटा, कृष्णप्रसाद भट्टराईको नेतृत्वमा दुईवटा र सुशील कोइरालाको नेतृत्वमा एउटा सरकार गठन भएको थियो ।

‘नेता केसीले कांग्रेसको सभापतिको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने बताए । कांग्रेसका क्रियाशील सदस्यसहितको मतबाट सभापति चयन हुने व्यवस्था हुुनपर्छ,’ नेता केसीले भने, ‘२०८२ सालसम्म महाधिवेशन जसरी पनि हुनुपर्ने र आगामी २०८४ सालको आमनिर्वाचनमा जाँदा नयाँ नेतृत्वमा हुनुपर्छ ।’ साथै, उनले पार्टीको कुनै धर्म हुनुपर्छ भन्ने नभए पनि कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए ।

२२ नेताको पूरक प्रस्ताव
यसैबीच, नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यहरूले सनातन हिन्दू राष्ट्रका पक्षमा पार्टी उभिनुपर्ने भन्दै पूरक प्रस्ताव पेस गरेका छन् ।

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूले विशेष पूरक प्रस्ताव भन्दै सनातन हिन्दू राष्ट्रका पक्षमा दृढतापूर्वक उभिन माग गरेका हुन् ।

शंकर भण्डारी, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, रंगमती शाही, विद्या तिमिल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, शुक्रराज शर्मा, पुष्प भुसाल, शारदा पौडेल, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डिला संग्रौलासहितले पूरक प्रस्ताव पेस गरेका छन् ।

‘कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको प्रति गम्भीर बन्दै महासमिति सदस्यहरूले यसको विषक्षमा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न त्रिवेणीधाममा भएको महासमितिमा व्यापक हस्ताक्षरसहित माग राखेको र काठमाडौंमा भएको महासमितिमा हस्ताक्षरसहित प्रस्ताव पेस गरेको तथ्यलाई स्मरण गराउँदै ७ फागुनदेखि हुने महासमितिमा पेस हुने राजनीतिक दस्तावेजमा वैदिक सनातन धर्मजस्तो बहुमत सदस्यको भावना र आमनेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएको प्रति चिन्तित हुँदै सनातन हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिन पूरक प्रस्ताव पेस गरेका छौं,’ प्रस्तावमा भनिएको छ ।

कांग्रेसमा यसअघि पनि सनातन हिन्दू राष्ट्रका पक्षमा उभिन माग भए पनि पार्टीले औपचारिक रूपमा छलफल गरेको थिएन । केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल महाअभियानका नाममा पछिल्लो समय विभिन्न गतिविधि भइरहेका छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *