एक साता नबित्दै फेरि फुट्यो जसपा : मधेस प्रदेश सरकार संकटमा

Sharing is caring!

वैशाख २८, २०८१ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) अशोक राईको नेतृत्वमा विभाजन भएको एक साता नबित्दै फेरि विभाजन भएको छ । पार्टी नेतृत्व सत्ताको खेलमा लागेको आरोप लगाउँदै जसपा नेपाल कार्यकारिणी समिति सदस्य प्रा.डा. महेन्द्र लावतीको नेतृत्वमा बिहीबार विभाजन भएको हो ।

संघीय लिम्बुवान पार्टी नेपालको नामले जसपा नेपालसँग एकीकरण गरेका नेताहरूले नै लावती नेतृत्वमा पार्टी विभाजन गरेका हुन् । जसपा नेपालबाट विभाजन भई राई समूहले जनता समाजवादी पार्टी (जसपा) गठन गरी कानुनी रूपमा निर्वाचन आयोगबाट मान्यता पाइसकेका छन् ।

लावती नेतृत्वमा जसपा नेपाल विभाजन भएपछि नेताहरूले पहिचानवादी मोर्चाको घोषणा गरेका छन् । पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेका मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप छ ।

सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको बताउँदै लावतीले भने, ‘आगामी दिनमा दलहरूको विकल्प, देशभक्त तथा राष्ट्रवादी, जनताको विकास र समृद्धिका पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई समृद्धि पथतर्फ डो¥याउने मोर्चाको लक्ष्य रहेको छ ।’

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न पनि मोर्चाले आह्वान गरेको छ ।

पहिचानवादी मोर्चामा सहभागी जसपा नेपालका कार्यकारिणी समिति सदस्य खगेन्द्र माखिमले पार्टी विभाजनमा आफूहरूको कुनै हात नरहेको बताए । उनले पार्टी विभाजनलाई आत्मघाती कदमको संज्ञा दिँदै दुवै पक्षसँग बस्ने अवस्था नबनेको बताए ।

‘पार्टीभित्र घटना घटिरहँदा हामी इलाम–२ को निर्वाचनमा अहोरात्र खटिइरहेका थियौं, हामीलाई थाहा भएन कि पार्टीमा के हुँदै छ भनेर, पार्टी विभाजन भयो यसमा हाम्रो कुनै हात छैन,’ माखिमले भने, ‘अहिले जसपा र जसपा नेपाल भएर आयो, यो पार्टी अगाडि बढिरहँदाखेरि जसपा र जसपा नेपाल दुवैमा रहिरहने अवस्था बनेन, यस पार्टीको विभाजनचाहिँ आत्मघाती कदम भयो ।’

जसपामा गोलबद्ध हुँदाको उद्देश्य र लक्ष्य प्राप्त हुने अवस्था नभएका कारण आफूहरू मोर्चा गठन गरेर अगाडि बढेको उनले सुनाए । ‘उद्देश्य र लक्ष्य प्राप्ति नहुने देखिसकेपछि दुवै जसपाका महान् नेताहरूलाई यो पार्टी जिम्मा छोड्दै हामी आफ्नो लक्ष्य र उद्देश्यका लागि अघि बढ्ने प्रण ग(यौं,’ उनले भने । नेताहरू व्यक्तिगत स्वार्थमा लाग्दा जसपासँग जोडिएका पहिचानवादीहरूको भविष्य, राजनीतिक भविष्य र सिंगो संगठन ध्वस्त बनेको उनको निष्कर्ष छ । अब पूर्वको आन्दोलनलाई सशक्त बनाउने उनले बताए ।

मधेस प्रदेश सरकार गुमाउँदै जसपा नेपाल
पार्टी विभाजनको मार खेपिरहेको जसपा नेपालको नेतृत्वमा मधेस प्रदेशमा सरकार छ । उपेन्द्र यादव आफैं संघीय सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । जसपा नेता सरोज यादवको नेतृत्वमा मधेस प्रदेश सरकार छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुवै पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछन् । उपेन्द्र अमेरिकामा भएका बेलामा पार्टी विभाजन भएको हो । अब प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने गृहकार्य भइरहेको स्रोतको दाबी छ ।

सत्तारूढ गठबन्धनमा रहेका बेला गठबन्धनमै रहेका नेताहरूले जसपा विभाजन गराएको निष्कर्ष उपेन्द्रको छ । यद्यपि, प्रधामन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपा विभाजनमा आफूहरूको कुनै संलग्नता नभएको बताइसकेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उपेन्द्र अनुपस्थित भए । आफू अमेरिका रहेका बेला पार्टी विभाजन गराएकामा प्रधानमन्त्री प्रचण्डसँग असन्तुष्ट रहेका उपेन्द्रले संघीय सरकारलाई नै समर्थन रहने बताएका थिए । साथै, पार्टी विभाजन असंवैधानिक बताउँदै उनले त्यसका विरुद्ध अदालत जाने चुनौती नै दिएका छन् ।

नेपाली कांग्रेससँग मिलेर सरकार ढाल्न लागेको निष्कर्षसहित सत्तारूढ दलका नेताले नै जसपा नेपाल विभाजन गराएको बताइएको छ । नेकपा एकीकृत समाजवादी, जसपा नेपाल वर्तमान गठबन्धन छोडेर कांग्रेससँग गठबन्धन बनाई सरकार बनाउन लागेको खबर सार्वजनिक भएपछि राजनीतिक पार्टी विभाजनको डिलमा पुगेको हो ।

हामी सरकारमै हुन्छौं : अशोक राई
जसपा नेपाल विभाजन गरी जसपा गठन गरेका अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन रहेको जनाएका छन् । साथै, आफूहरू सरकारमै रहने उनले स्पष्ट पारेका छन् ।

‘हामी सरकारमै छौं, अब उहाँ ९उपेन्द्र यादव० सरकारमा रहनुहुन्छ कि रहनुहुन्न प्रधानमन्त्री र उहाँले निक्र्योल गर्ने कुरा हो,’ राइले भने, ‘हामीले त अलग दल बनाएका छौं ।’

उनले आफूहरूले पार्टी विभाजन गर्नुअघि पनि सरकारको अंकगणित मिलेकै थियो भनेर दाबी गरे । तर, सरकारको अंकगणितलाई फेरफार गर्ने गतिविधि अन्डरकरेन्ट चलिराखेको भन्ने कुरा आफूहरूले पनि सुइँको पाएको उनको भनाइ छ ।

‘अंकगणित मिलेकै थियो, तर अलिकति अंकगणितलाई फेरफार गर्ने गतिविधि चलिराखेको भन्ने कुरा मिडियामा आएको थियो, सत्यता मिडियालाई नै थाहा होला, हामी सतर्क हुनुपर्ने पक्ष थियो,’ राईले भने, ‘मुलुक अस्थिरताको सिकार रहनुहुँदैन, हामी अस्थिरताको कारक हुँदैनौं ।’

राईले आफूहरूले रहरले नभई बाध्यताले पार्टी विभाजन गरेको स्पष्ट पारेका छन् । उनले उपेन्द्र यादवको व्यवहार राम्रो नभएको र अन्याय गरेकाले विभाजनको बाटो रोजेको स्पष्टीकरण दिए ।

‘उपेन्द्र यादवले नजिक र टाढाको व्यवहार गर्नुभयो, नेतृत्वमा पारदर्शिता देखिएन, महाधिवेशन अनियमित ढंगले कब्जा गर्ने र पार्टी नियन्त्रण गर्ने देखियो, परिस्थिति पाक्यो, अनि विस्फोटक अवस्था आयो,’ राईले भने, ‘पार्टी फुट्नु रहर होइन, यो बाध्यता हो, अन्याय सहनु पनि पाप हो ।’

साथै, राईले आफूहरूले कानुन र संविधानसम्मत रूपमा पार्टी दर्ता गराएको भन्दै कसैले कानुनी चुनौती दिए सामना गर्ने स्पष्ट पारेका छन् । साथै, उनले मधेस प्रदेशमा आफूहरूको पक्षमा ५० प्रतिशतभन्दा बढी सांसद खुल्ने दाबीसमेत गरे । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *