संघीयता कार्यान्वयनका लागि उच्च स्तरको सहयोगको आवश्यकता

Sharing is caring!

साउन २६, २०७५ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानले अंगीकार गरेको जनताका अधिकारहरूलाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
विश्व बैंकको मुख्यालय अमेरिकामा बुधबार विश्व बैंक र नेपाली राजदूतावासद्वारा आयोजित नेपाल दिवस कार्यक्रममा उनले नेपालका विकास आवश्यकता बारे प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले संघीयता कार्यान्वयन र पूर्वाधार विकासको लागि विश्व बैंक लगायत विकास साझेदारहरूबाट उच्च स्तरको सहयोगको आवश्यकता रहेको बताउँदै उनले हाल नेपालमा विकास र समृद्धिको लागि उत्साहजनक वातावरण रहेकोले सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संस्थाहरू, गैर सरकारी संघ संस्था तथा विकास साझेदारहरू मिलेर अगाडि बढ्ने कुरा बताए ।
उक्त कार्यक्रममा विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, बहुपक्षीय लगानी प्रत्याभूति संस्थाका उपाध्यक्षहरू, विश्व बैङ्कका नेपाल हेर्ने कार्यकारी निर्देशक लगायत नेपालका अन्य विकास साझेदारहरूको उपस्थिति थियो ।
उनले संघीयताको कार्यान्वयन गर्न थप श्रोतको आवश्यकता रहेको र प्रदेश, स्थानीय तहमा संविधान प्रदत्त अधिकार उपयोग गर्न सक्षम बनाउन क्षमता अभिवृद्धि आवश्यक रहेको बताए । नेपालको समष्टिगत आर्थिक सूचकाँकहरू अनुकुल रहेको, लगानीको वातावरणमा सुधार भएको, करका प्रावधानहरू प्रतिस्पर्धी रहेको, युवाहरूको जनसंख्याको बाहुल्यता रहेको, थप पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेकोले निजी क्षेत्रले लगानी गर्न उपयुक्त वातावरण बनेको पनि बताए । कार्यक्रममा विश्व बैंकका विभिन्न विभागहरूमा कार्यरत विषय विज्ञहरू र नेपालका अन्य विकास साझेदारहरूले विभिन्न जिज्ञासाहरू राखेका थिए । अर्थमन्त्रीले ती प्रश्नहरूको उत्तर दिँदै प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि अत्यावश्यक रहेको, व्यापार घाटा कम गर्न आन्तरिक उत्पादनमा जोड दिदैँ निर्यात प्रबर्द्धन गरिने कुरा बताए । सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको समेत उनले बताए ।
साथै अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले नेपालमा सेवा प्रवाह, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा भएका सुधार र विकास वित्तको थप आवश्यकताबारे प्रस्तुतीकरण गरेको थिए । बैंकको बोर्डबाट पारित भएको विकासको साझेदारी ढाँचालाई कसरी कार्यान्वयनमा ल्याउने भन्ने विषयमा अर्थमन्त्रीको उपस्थितिमा विश्व बैंकका विभिन्न विभागहरूले प्रस्तुतीकरण गरेको उक्त नेपाल दिवसमा कार्यक्रममा सहभागी विकास साझेदार तथा अन्य उपस्थित अतिथीलाई अमेरिकाका लागी नेपालका राजदूत डा अर्जुन कुमार कार्कीले नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
नेपाल दिवसको अन्तमा विश्व बैंक र नेपाली राजदूतावासको संयुक्त आयोजनामा बैङ्कको मुख्यालयमा नेपाल सम्बन्धी सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । सो समारोहमा विश्व बैंक समूहका उच्च पदाधिकारीहरू, विश्व बैंक समूहमा कार्यरत नेपाली कर्मचारी, नेपाल समेत हेर्ने कार्यकारी निर्देशक तथा उनको कार्यालयका कर्मचारी र राजदूतावासका कर्मचारीहरू तथा अन्य नेपालीहरूको समेत उपस्थिति रहेको थियो । यो खबर आजको कारोबारमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *