द्रुतमार्ग निर्धारित समयमै बन्छ, आशङ्का नगरौँः नेपाली सेना

Sharing is caring!

असोज ५, २०७५ । नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई–मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा आशङ्का नगर्न आग्रह गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीवार आयोजित पत्रकार सम्मेलनमा द्रुतमार्ग आयोजना प्रमुख एवम् रथी योगेन्द्रबहादुर खाँणले प्राविधिक हिसाबले जति नै चुनौतीपूर्ण रहे पनि सबैबाट रचनात्मक सहयोग र सद्भाव भएमा तोकिएको समयभित्रै निर्माण गर्न सक्षम हुने दाबी गरे । सडकको रेखाङ्कनअनुरुप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्ररुपमा भइरहेको जानकारी दिँदै उनले भने, ‘कार्यतालिका, कार्ययोजनाका आधारमा आयोजनाको कामलाई अघि बढाइएको छ ।’

सस्तो मूल्यमा गुणस्तरीय ढङ्गबाट छिटो सम्पन्न गर्न सक्छ भन्ने सरकार र नागरिकको सेनाप्रतिको विश्वासलाई सङ्गठनले इतिहास रच्ने अवसरका रुपमा लिएर काम गरिएको पनि सो अवसरमा जानकारी दिइयो । उक्त द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली सुसुङ परामर्शदाता कम्पनी छनोट भएको छ ।

उक्त कम्पनीसँग यही महीनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने तथा सम्झौता भएको चार महीनाभित्र डिपीआर तयार हुने सेनाले जानकारी दिएको छ । उक्त डिपीआर करीब रू. १० करोड १५ लाखको लागतमा तयार हुनेछ । द्रुतमार्गले काठमाडौं र तराईलाई भावनात्मक र भौगोलिकरुपमा जोड्ने विश्वास गरिएको छ । प्रस्तावित ७६ किमी लामो उक्त सडकलाई १० भागमा विभाजन गरेर २८ ओटा कन्ट्रयाक्टरमार्फत काम गरिरहेको सेनाले जानकारी दिएको छ । नेपाली सेनाले मुलुकका विभिन्न भागमा हालसम्म १ हजार १ सय १४ किलोमिटर सडक र २९ ओटा पुल निर्माण गरिसकेको छ । द्रुतमार्गसहित ५ सय २६ किलोमिटर सडक अहिले सेनाले बनाइरहेको छ ।यो खबर आजको आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *