वाईडबडी खरिदमा ठूलो घोटाला भएको छ: यादव

Sharing is caring!

पुस १९, २०७५ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानबिन उपसमितिका सदस्य प्रदीप यादवले विमान खरिदमा ठूलो घोटाला भएको भन्दै बहालवाला मन्त्री, सचिव र महाप्रबन्धकलाई तत्काल बर्खास्त गरी जेल हाल्नुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद यादवले आफूहरुले १५ दिन लगाएर वाईडबडी खरिद प्रकरणको सत्यतथ्य बाहिर ल्याएको दाबी गरे । उनले भने,‘ठूलो मास्टर प्लान बनाएर वाईडबडी खरिदमा घोटाला भएको छ । खरिद गर्दा सार्वजनिक खरिद ऐनपनि मानेको छैन् ।’

उनले जहाज ‘ग्लोबल टेण्डर’ नगरीकन किनिएकोपनि आरोप लगाए । उनले भने,‘फ्रान्ससँग किन डाईरेक्ट किनिएन ? भ्रष्टाचार गर्नकै लागि विचौलिया राखिएको छ ।’

उनले जहाज खरिदको नाममा युनियनका नेतासमेत गरि ३८ जना भोजभतेर खानको लागि भ्रमणमा गएको दाबी गरे । उनले थपे,‘भ्रमणको नाममा पनि करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको छ ।’ उनले जहाज खरिदको ओरिजिनल बिल महाप्रबन्धक सुगतरत्न कंशकार र मन्त्री रवीन्द्र अधिकारीले सार्वजनिक गर्नुपर्ने बताए ।

छानबिन गर्दा आफूहरुलाई कुनै दबाब नआएको उनले स्पष्ट पारे । उनले भने,‘समितिलाई कुनै पनि दबाब आएको थिएन । तर, निगमका महाप्रबन्धक कंशकारबाट हामीलाई आवश्यक सहयोग भएन । उहाँले हामीले मागेको प्रतिवेदन दिनुभएन ।’

यादवले तत्काल महाप्रबन्धक कंशकारलाई निलम्बन गर्नुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई हतकडी लगाउनुपर्ने उनको भनाई छ । उनले भने,‘यो प्रकरणका भ्रष्टाचारीहरुलाई हतकडी लगाउनुपर्छ । पर्दा पछाडि नायकहरुपनि होलान् । ती सबैलाई पर्दाफास गर्नुपर्छ ।’

उनले आफूहरुले बाहिर ल्याएको प्रतिवेदनमा उल्लेखित ४ अर्ब ३५ करोड ५६ लाख रकम घोटाला रकम बढ्नेपनि स्पष्ट पारे । उनले भने,‘यो आंशिक हो । ओरिजिनल बिल कहाँ गयो ? यो प्रकरणमा जो-जो संलग्न छन्, ती सबैलाई कारबाही गर्नुपर्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *