लोकसभा निर्वाचन: ‘चियावाल’ बाट‘ चौकीदार

Sharing is caring!

चैत ९, २०७५ । चौकीदार अर्थात पहरेदार । सुरक्षाका लागि खटिएको व्यक्ति । अब मानिसले मात्रै चौकीदारी गर्छ भन्दा पत्याउन सकिन्न । किनकि चीनले चौकीदार रोबोटको आविश्कार गरिसकेको छ र त्यसलाई रातको समयमा चौकीदारीका लागि खटाउने गरिन्छ । राति कुनै व्यक्तिले गस्ती गर्दैन । रोबोट चौकीदारले नै अनुहार पहिचान तथा मानिस र यन्त्रबीचको संवादमार्फत सुरक्षा व्यवस्था सम्हाल्छ, अवैध गतिविधिमाथि नजर राख्छ र बेइजिङको मेइयुआन कम्युनिटीलाई आवश्यक जानकारी दिन्छ ।

चौकीदार अर्थात सुरक्षा गार्डको काम पनि यसै प्रकृतिकै हुन्छ । तर केही सातादेखि यही सुरक्षाका लागि खटिएको चौकीदारको प्रसंगले भारतीय राजनीतिमा डेरा जमाएको छ । कोही चौकीदारका समर्थक र कोही विरोधी देखिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिनादेखि सुरु हुने लोकसभा निर्वाचनलाई लक्षित गरी ‘म पनि चौकीदार’ अभियान नै सुरु गरेपछि चौकीदार शब्द यतिबेला चर्चित बनेको हो । भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले ‘चौकीदार चोर भयो’ भन्ने टिप्पणी गरेपछि कतिपयले उनका यी शब्दले चौकीदारलाई होच्याएको भन्दै आपत्ति पनि जनाए । मोदी विरोधी राजनीतिमा लाग्नेहरुले भने मोदीको यो नाराको खुलेरै विरोध गरेको पाइयो । आम आद्मी पार्टीका तर्फबाट दिल्ली विधानसभामा निर्वाचित भएकी विधायक अल्का लम्बाले त ट्विट गरेर ‘यसपटक प्रधानमन्त्री चुनौं, चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ’ अभिव्यक्ति दिएपछि उनको यो भनाईको नेपाल र भारतमा विरोध भयो र उनले आफ्नो भनाई फिर्ता नै लिएकी छन् ।

प्रधानमन्त्री मोदीले भारतीय जनता पार्टी (बिजेपी) को ‘म पनि चौकीदार’ अभियान सुरु गर्दै भनेका थि, ‘तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन् ।’ हुन त मोदीले आफूलाई चौकीदारसँग तुलना गरेको यो नै पहिलो घटना होइन । उनले सन् २०१४ को निर्वाचनमा पनि आफू भारतका चौकीदार बन्न चाहेको प्रसंग उठाएका थिए ।

चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको आशय थियो । अघिल्लो निर्वाचनमा चौकीदारको प्रसंग उल्लेख गरिएपनि उनले आफूलाई चियावालको रुपमा बढी प्रस्तुत गरे । यसको प्रभाव चुनावमा पनि देखियो र उनको पार्टी बहुमतसहित सत्ताको नेतृत्व गर्ने अवस्थामा आयो । भारतमा आगामी ११ अप्रिलबाट विभिन्न ७ चरणमा गरी लोकसभा निर्वाचन सम्पन्न गरिँदैछ । त्यसकारण यो निर्वाचन जित्नका लागि भारतका सबै राजनीतिक दलहरु मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । मोदीको अभियानलाई यसैको एउटा कडीका रुपमा लिइएको छ ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *