कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट केन्द्रमै फिर्ता

Sharing is caring!

जेठ ९, २०७६ । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन् । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेका हुन् ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका तथा काठमाडौंका नागार्जुन र टोखा नगरपालिकाले एक–एक कर्मचारी फिर्ता पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

धुलिखेल नगरपालिका प्रमुखसमेत रहेका नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जूले दरबन्दीअनुसार नमिलेका र प्राविधिक ज्ञान नभएका कर्मचारी फिर्ता गरिएको बताए । ‘हामी कर्मचारी समायोजनको विषयमा सन्तुष्ट छैनौँ । नगरपालिकामा त कम्प्युटर जान्ने कर्मचारी चाहिन्छ । कम्प्युटर नै चलाउन नजान्ने कर्मचारी पठाएर हुन्छ ? नगरपालिकामा सातौँ तहको लेखापालको दरबन्दी नै छैन । दरबन्दी नै नभएको कर्मचारी पठाएर हुन्छ ? त्यसैले हामी छानीछानी राख्छौँ, अरू फिर्ता पठाउँछौँ,’ अध्यक्ष व्याञ्जूले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने पर्याप्त कर्मचारी रहेका तथा प्राविधिक जनशक्ति आवश्यक भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएको बताए । ‘पर्याप्त कर्मचारी भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएका हुन् । केही स्थानीय तहलाई प्राविधिक कर्मचारी आवश्यक भएको, तर केन्द्रबाट प्रशासनिक कर्मचारी गएकाले पनि हाजिर नगराएका रहेछन्,’ सचिव कोइरालाले भने, ‘फिर्ता गरिएका कर्मचारीलाई कहीँ न कहीँ राखिन्छ ।’ त्यस्ता कर्मचारीको लगत मन्त्रालयले गत २२ वैशाखदेखि राख्न थालेको छ । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *