युवालाई राजनीतिमा आकर्षित गर्न कांग्रेसले ‘युवा सिट’ अनिवार्य गर्ने

Sharing is caring!

असोज १०, २०७५ । कांग्रेसले युवालाई राजनीतिमा आकर्षित गर्न ‘युवा कोटा’ निश्चित गर्ने भएको छ । प्रत्येक तहका कमिटिमा १८–२५ वर्षसम्मका युवाको सहभागिता अनिवार्य गराउने विधानमा प्रस्ताव गरिएको छ । ‘तल्लो कमिटिदेखि माथिल्लो कमिटिसम्म १८–२५ वर्ष उमेरसम्मका युवालाई अनिवार्य सहभागिता गराउने विधान बनाउँछौँ,’ प्रस्तावित विधानमा सुझाव संकलन गर्न प्रदेश १ मा खटिएका टोलीका संयोजक कांग्रेस नेता आनन्द ढुंगानाले भने,‘निर्वाचित नभए मनोनयन गर्ने व्यवस्था हुन्छ ।’

केन्द्रीय कमिटिसम्म युवाको सहभागिता गराउने ढुंगाना बताउँछन् । ‘त्यसमा हामी कोटानै छुट्याउन तयार छौँ,’–उनले भने,‘त्यति गर्दा पनि युवाको सहभागिता भएन भने सभापतिले मनोनयन गर्ने २० प्रतिशतबाट भएपनि युवालाई सहभागी गराउँछौ ।’ यस्तो व्यवस्थाले युवालाई राजनीतिमा आकर्षण गर्ने कांग्रेसको ठहर छ । प्रस्तावित विधानमा दुई दिन लगाएर सुझाव संकलन गरेपछि सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा टोली संयोजक ढुंगानाले भने,‘यस्तो व्यवस्था राख्दा नयाँ नेतृत्वको जग बस्छ ।’

कांग्रेसले पार्टीमा क्रियाशील हुने अधिकतम उमेर हद भने प्रस्ताव गरेको छैन । विधान मस्यौदा समितिले देशभरबाट आएको सुझावका आधारमा अन्तिम मस्यौदा तयार पार्ने भएको छ । मस्यौदा केन्द्रीय समितिबाट पारित भएपछि महासमिति बैठकमा पेश हुनेछ । महासमितिबाट पारित भएपछि विधान लागू हुने छ ।

प्रस्तावित विधानमा कांग्रेसले एक अधिवेशन अवधिमा कनै पनि तहमा चुनाव हारेकालाई अर्को तहको चुनावमा उमेद्वार हुन अयोग्य हुने प्रस्ताव गरेको छ । ‘आन्तरिक संगठनको एउटा चुनाव हारेको व्यक्ति त्यो अधिवेशनको कार्याकाल भर अर्को चुनावमा भाग लिन नपाउने प्रस्ताव गरेका छौं,’ ढुंगानाले भने,‘चुनाव हारेकालाई मनोनित गर्न नहुने सुझाव पनि आएको छ ।’

कांग्रेसले चार किसिमको सदस्यताको व्यवस्था गर्ने भएको छ । यसअघि दुई प्रकारको सदस्याको व्यवस्था थियो । यसअघि साधारण र क्रियाशिल सदस्यता दिने गरेको कांग्रेसले अब विषेश सदस्यता र सम्मानित सदस्यता थप गर्न प्रस्ताव गरेको छ । सम्मानित सदस्यता पार्टीमा योगदान गरेका पुराना कार्यकर्तालाई दिइनेछ भने विषेश सदस्यता सामाजिक संघसंस्थामा क्रियाशील रहेका कांग्रेसका साधारण र क्रियाशील सदस्यता लिन नसक्नेलाई दिने प्रस्ताव गरेको छ । तर, थपिएका दुई प्रकारका सदस्यलाई भने मताधिकार भने दिइनेछैन ।

फरक प्रसंगमा कांग्रेस नेता ढुंगानाले मुलुकी संहितामा कतिपय त्रुटि रहेको भन्दै त्यसलाई सच्याउन माग गरे । उनले कांग्रेस प्रेसलाई अंकुश लगाउने पक्षमा नभएको बताए । इलाममा भएको प्रस्तावित विधानमा सुझाव संकलन कार्यक्रममा इलाम, पाँचथर, ताप्लेजुङ र झापाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भातृ तथा शुभेच्छुक संगठनका प्रमूख र पार्टीका पदाधिकारी सहभागी थिए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *