कांग्रेसकाे छाया सरकारमा पनि असन्तुष्टि

Sharing is caring!

जेठ ९, २०७६ । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजारे प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको छ। सरकारमाथि मन्त्रालयगत रूपमै खबरदारी गर्न भन्दै कांग्रेसले सोमबार ५८ सदस्यीय छाया सरकार गठन गरेको थियो।

छाया सरकारको जिम्मेवारी पाएका नेताहरूले असन्तुष्टि जनाउन थालेका छन्। यसरी असन्तुष्टि जनाउने नेताहरुमा गगन थापा, अमरेश सिंह लगायत छन्।

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रत्येक मन्त्रालयमा एक संयोजक र दुई सदस्य रहने गरी छाया सरकार गठन गरेका थिए। कांग्रेसले यसलाई मन्त्रालय समन्वय समिति नाम दिएको छ। छाया सरकारको परराष्ट समितिमा रहेका सिंहले आफू उक्त समितिमा नबस्ने जानकारी संसदीय दलमा लिखित रूपमै गराएका छन्।

‘छाया सरकारमा पनि गुटगत व्यवस्थापनकै कुरा देखियो’, सिंहले भने, ‘सांसदहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिएको देखिएन।’ छाया सरकारमा सिंहलाई परराष्ट्र समितिमा राखिएको थियो। परराष्ट्रको संयोजकको जिम्मेवारी डा. नारायण खड्कालाई दिइएको थियो।

निर्वाचनपछि कांग्रेसमा बढ्दै गएको गुटगत चलखेलका कारण सभापति तथा संसदीय दलका नेता देउवालाई छाया सरकार बनाउनसमेत सकस परेको थियो।

संसदीय दलको विधानमा छाया सरकारको अवधारणा राख्न जोडबल गरेका युवा नेता गगन थापासमेत छाया सरकारसँग सन्तुष्ट छैनन्। थापाले हरेक मन्त्रालय हेर्ने गरी एक जना मात्र राख्नुपर्ने अडान संसदीय दलको बैठकमा राखेका थिए। उनलाई शिक्षा मन्त्रालयको संयोजकको जिम्मा दिइएको छ। पार्टीभित्र रहेका बढीभन्दा बढी सांसदहरुलाई समेट्न यस्तो समिति गठन गरिएको सभापति निकटका नेताहरुले बताएका छन्।

सिंहले आफू संसद्को राज्य व्यवस्था समितिमा समेत रहेको र निर्वाचन क्षेत्र तथा संसद् बैठकमा प्रतिपक्षी संसद्को भूमिका सशक्त रुपमै निर्वाह गर्ने दाबी गरे। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *