लामो रुटमा हुँदैनन् दुई चालक

Sharing is caring!

साउन २७, २०७६ । नियमबमोजिम रात्री तथा लामो रुटका बसमा दुई चालक हुनुपर्छ। तर एक जना चालकले मात्र चलाउने गरेको पाइएको छ। नियमपालन नगर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको निष्कर्ष छ। एक जनाले मात्र गाडी चलाउँदा थाक्ने, निदाउनेजस्ता कारणले दुर्घटना बढ्न थालेपछि सरकारले दुई चालक हुनैपर्ने नियम बनाएको थियो।

चालक निदाउनु दुर्घटनाको मुख्य कारक रहेको धादिङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर नेत्रप्रसाद भट्ट बताउँछन्। सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस बिहीबार बिहान साढे ३ बजेतिर पृथ्वी राजमार्गको सलाङघाटबाट त्रिशूलीमा खस्यो। ९ जनाको ज्यान गयो। १६ जना घाइते भए। २० भन्दा बढी हराइरहेको आशंका प्रहरीले गरेको छ। उनीहरूको खोजी जारी छ। ‘दुर्घटनामा चालकको लापरवाही प्रमुख कारण रहेको हाम्रो अनुमान छ। सडकछेउको कल्र्भटमा गाडी ठोक्किएर १५ मिटरजति परबाट नदीमा खसेको देखिएको छ’, उनी भन्छन्, ‘दुर्घटनास्थलको भूबनोट हेर्दा त्यति धेरै दुर्घटनाको जोखिम रहेको ठाउँ होइन। ’

उनका अनुसार चालक बोल्नै नसक्ने अवस्थामा रहेकाले सत्यतथ्य बाहिर आएको छैन। एउटै चालकले लामो समय सवारी चलाउँदा थाकेको र बिहानीपख चिसो वातावरणमा चालक निदाएको हुन सक्ने प्रहरीको अनुमान छ। बसमा चालक र सहचालकबाहेक अर्का एक जना पनि थिए। उनी अतिरिक्त चालक थिए÷थिएनन् पुष्टि हुन सकेको छैन। प्रायः सवारीधनीले अतिरिक्त चालकका रूपमा सिकारु चालक राखी सुरक्षा जाँचका बेला सुतेको छ भनेर ढाँट्ने गरेको जानकार बताउँछन्। लामो दुरीका सवारी चलाइरहेको महाकाली यातायात व्यवसायी समितिका अध्यक्ष डम्बर पन्तले सबै सवारीधनीलाइ २ चालक अनिवार्य राख्न निर्देशन गरिएको बताए। उनले भने, ‘एक त लामो दुरीका चालक थोरै छन्, त्यसमा पनि दक्ष नभएकाले सवारीधनीलाई चालक ब्यवस्थापन गर्न समस्या भइरहेको छ। ’

राजमार्गका मुख्य चेक प्वाइन्टमा पनि सवारीधनीले चालक फेरिएको भन्ने गरेका छन्। ‘मुख्य चेकजाँच गर्ने ठाउँ आँपटारी, मुग्लिन, गजुरीलगायतमा सामान्यतः सोधपुछ भइरहेको हुन्छ’, ट्राफिक प्रहरी प्रमुख भट्ट भन्छन्, ‘सवारीधनी र चालक भर्खरै परिवर्तन भयो भन्छन्। यात्रु मौन बस्छन्। ’ महेन्द्रनगरबाट आएको रात्रीबसका एक यात्रु शनिबार बिहान मलेखुमा चिया पिउँदै थिए। उनले भने, ‘गाडी स्टाफ भनेर २-४ जना देखिएका त थिए तर बाटोमा चालक परिवर्तन भए÷नभएको यादै भएन। ’

लामो यात्रा गर्दा यात्रु सचेत हुुनुपर्ने ट्राफिक प्रहरी प्रमुख भट्ट बताउँछन्। ‘जहाँतही चेक गर्न मिल्दैन। ठाउँ हेरेर बेला–बेला चेक गर्दा पनि यात्रुबाटै विरोध आउँछ। भर्खरै परिवर्तन भएको भनिदिन्छन्’, उनी भन्छन्, ‘राति धेरै अवरोध गरेर चेक गर्न पनि नमिल्ने, अतिरिक्त चालकको लाइसेन्स अथवा व्यक्ति खोजेका बेला यात्रु अरूभन्दा पहिले उता सुतेको छ भनिदिन्छन्। ’ दुई चालक राख्नुपर्ने नियम बनाइए पनि त्यसलाई कार्यान्वयन गराउने जिम्मेवार निकायको गैह्रजिम्मेवारीले गर्दा समस्या भइरहेको उनी बताउँछन्।

महाकाली यातायातकै गाडी चलाइरहेका महेन्द्रनगरका चालक सुवास भट्टले भने सबै समितिले २ चालक राख्न नसकेको बताए। ‘हाम्रो समितिमा धेरै गाडी छन्, दैनिक होल्डमा थुप्रै गाडी हुन्छन्’, उनले भने, ‘संस्थागत रूपमै होल्डमा बसेका चालकलाई अतिरिक्त चालकमा पठाउने गरेको छ, हामीले आलोपालो नै चलाउने गरेका छाँै। ’ हेभी गाडी चलाउन सक्ने दक्ष चालक उत्पादनका लागि राज्यले नै बेवास्ता गरिरहेकाले सबै समितिले गाडीमा २ जना चालक राख्न सक्ने अवस्था नरहेको पनि उनले बताए।

पछिल्लो समय लामो दुरीका ठूला सवारीसाधनको संख्याका आधारमा लाइसेन्सप्राप्त चालक थोरै रहेकाले नियम लागू गर्न कठिन भएको पन्तले बताए। ‘खलासी भएर त्यत्तिकैमा सिकेर चालक बनेकाहरू धेरै नै छन्’, उनले भने, ‘प्राविधिक ज्ञानको कमी हुनु र दक्षता पनि नहुनुले धेरैजसो दुर्घटना निम्तिरहेको छ। ’ दक्ष चालक थोरै भएकै कारण अहिले सरकारलाई सातवटै प्रदेशमा दक्ष चालक उत्पादन तालिम सेन्टर खोल्न आग्रह गर्दै समितिले पहल गरिरहेको पन्तले बताए। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *