राष्ट्रपतिद्वारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

Sharing is caring!

वैशाख १०, २०७५ । दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । उहाँले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराउनुभएको हो ।

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय जानु भई पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिनुभएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

कोषका पदाधिकारीसँग कुरा गर्दै उहाँले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराउनुभयो । भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित हुनुभएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । त्यसबेला उहाँले पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *