मन्त्रिपरिषद् बैठक : १२ मन्त्रालयका ६ विभाग खारेज

Sharing is caring!

बैशाख ५, २०७५ । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने राज्यमन्त्री बाँस्कोटाले बताए ।

सरकारले उखुको मूल्यमा प्रति क्वीन्टल पाँच रुपैयाँ ५६ पैसाका दरले वृद्धि गरेको छ । उखु किसानलाई राहत दिने उद्देश्यले उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो । हाल उखु प्रति क्वीन्टल ५३१ रुपैयाँम बिक्री हुँदै आएको छ ।

उखुको मूल्यसँगै चिनीको कारखाना उत्पादन मूल्य प्रतिकिलो ७० रूपैयाँबाट मूल्य बढ्न नदिन आवश्यक संयन्त्र निर्माण गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

१२ मन्त्रालयका ६ विभाग खारेज

सरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहातका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय भएको बाँस्कोटाले जानकारी दिए ।

यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९४६ कर्मचारीको दरबन्दी कटौती हुने छ । अरु २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको उनले बताए । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *