भक्तपुरमा गाईजात्रा बिहानैदेखि शुरु

Sharing is caring!

भदौ ११, २०७५ । भक्तपुरमा आज गाईजात्रा बिहानैदेखि शुरु भएको हो । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने छ । नेवार समुदायका परिवारले मृतक व्यक्तिको संझनामा निकालिएको गाईजात्रामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाइ टोलटोल घुमाउने गरिन्छ । टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ । मध्यान्हपछि जात्रा आकर्षक हुने भएकाले यहाँ जात्रा हेर्नेको भीड लाग्ने गर्दछ ।

हिन्दुधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने उल्लेख गरिएको संस्कृतिकर्मी रामशेखर श्रेष्ठले जानकारी दिनुभयो । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको चित्त बुझाउन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आदेश दिएकाले गाईजात्रा शुरु भएको ऐतिहासिक मान्यता छ ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएकाले सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेपनि यहाँका पुरका संस्कृतिकर्मी भने गाईजात्रा पर्व विक्रम सम्बत्को १४ औं  शताब्दीभन्दा अगाडि तथा लिच्छवीकालको अन्त्यमा शुरु भएको बताउँदै आएका छन् ।

यहाँ गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरब र तःहामचा निकालेर नगर परिक्रमा गराएपछि सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन छ ।यस दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतिकर्मी श्रेष्ठको भनाइ छ ।

यस दिन पाप गरे मृत्युपश्चात पनि सोही कर्म भोग्नुपर्छ भन्ने धार्मिक विश्वासका साथ आजका दिन कसैले पनि त्यस्तो गतिविधि गर्न नहुने भनाइ रहेको उहाँ बताउनुहुन्छ । आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *