बैंकको नाफा वढाउन स्प्रेडदरमा वृद्धि

Sharing is caring!

वैशाख २४, २०७५ । वणिज्य बैंकहरूले नाफा उच्च देखाउनका लागि कर्जामा लिने र निक्षेपमा दिने ब्याजअन्तर (स्प्रेड दर)लाई बढाएका छन् । बैंकहरूले स्प्रेड वढाएपछि नाफा पनि १५ प्रतिशतले बढेको हो ।

बैंकहरूले पुँजी वृद्धिको अनुपातमा लगानी गर्न नसकेपछि स्प्रेड बढाएरै भए पनि नाफा धेरै देखाएका हुन् । बैंकहरूले निक्षेपका लागि दोहोरो अंकमा ब्याजदर कबोले पनि कर्जामा लिने ब्याजदर बढाएर आम्दानी वृद्धि गरेका हुन् । बैंकहरूले कर्जा र निक्षेपको ब्याजदर अधिकतम अन्तर ५ प्रतिशतसम्म राख्नपाउने व्यवस्था छ । त्यो ५ प्रतिशतभित्र खेल्दा आवश्यकताअनुसार बढाउने र घटाउने गरेका हुन्छन् ।

यसले लागतभन्दा पनि कममा लगानी गर्ने ट्रेण्डलाई सुधार गरेको उल्लेख गर्दै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, “बैंकहरूको नाफामा स्प्रेडको योगदान हुन्छ ।” बैंकहरूले स्प्रेड वढाउदा त्यसले नाफामा सकारात्मक प्रभाव पार्ने उनले स्वीकार गरे । खालिङका अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरूको नाफा १५ प्रतिशत बढ्नुमा स्प्रेड रेट वढाउनु र टे«जरी विल्समा आउने ब्याजदर वढ्नु नै मुख्य कारण हो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २८ बैंकहरूले कुल ४५ अर्ब १८ करोड रुपैयाँ खुद नाफा गरेका छन् । सो अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी ६७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैंकहरूले आम्दानी गर्ने स्रोत सीमित भएपछि कर्जामा लिने ब्याजदर बढाएका हुन् । बैंकहरूले स्प्रेड बढाउनु भनेको कर्जामा लिने ब्याजदरसमेत बढ्नु हो ।

बैंकहरूको निक्षेपको ब्याजदर उच्च रहेको हुनाले कर्जाको ब्याजदर नै बढाएर स्प्रेड बढेको उल्लेख गर्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले भने, “स्प्रेडका कारण बैंकहरूको नाफामा करिब ४ प्रतिशतको योगदान छ ।” केही बैंकहरूले स्प्रेड बढाए पनि ठूला बैंकले घटाए भने त्यसको प्रभाव बढ्ने देखिन्छ । तर गत असारको तुलनामा औसत स्प्रेडसमेत बढेर ४.०८ प्रतिशत पुगेको छ । बैंकहरूले लगानी विस्तार गर्न नसकेपछि उच्च दरको निक्षेपलाइ स्प्रेड वढाएर कर्जा प्रवाह गरेको देखिन्छ ।

गत आर्थिक वर्षको तुलनामा धेरै बैंकहरूले चैत मसान्तसम्ममा स्प्रेड बढाएका छन् । केही बैंकहरूले घटाएका पनि छन् । चैतसम्ममा बैंकहरूको औसत बेस रेट पनि करिब ११ प्रतिशत छ । बैंकहरूको उच्च बेसरेट भएको अवस्थामा पनि स्प्रेड दर बढाएका छन् । यसले ऋणीलाई प्रत्यक्ष असर गर्ने भए पनि अप्रत्यक्ष रूपमा उच्च ब्याजदरका कारण सर्वसाधारणसम्म नै पुग्छ । स्प्रेडरेट वढाएर बैंकहरूले निक्षेपको उच्च खर्च ग्राहकमा पासअन गरेको स्पष्ट हुन्छ ।

चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै स्प्रेड वढाउनेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले गत असार अन्तिममा ३.३९ प्रतिशत रहेको स्प्रेड चैत मसान्तसम्ममा यो दर बढेर ४.७७ प्रतिशतमा पुगेको छ । त्यसैगरी प्रभु बैंकले गत असारको तुलनामा स्प्रेड रेट १.१४ अंकले वढाएर ४.४१ प्रतिशत पुर्याएको छ । तर, यो अवधिमा माछापुच्छ्रे, सनराइज, हिमालयन, मेगा, सिभिल, एनसीसी, नेपाल बंगलादेश बैंक, ग्लोबल आईएमई, एनएमबी र सेञ्चुरी कमर्सियल बैंकले भने स्प्रेडरेट घटाएका छन् ।यो खबर आजको कारोबारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *