बाघको संख्या २ सय ३५: चितवनमा घट्यो, बर्दियामा बढ्यो
असोज ८, २०७५ । नेपालमा पाटे बाघको संख्या बढेको छ, विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।
५ वर्ष अघिको गणनामा बयस्क बाघको संख्या १ सय ९८ थियो । यसपटक चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गणना गर्दा संख्या बढेको पाइएको हो । राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले बाघको नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।
पछिल्लो गणनाअनुसार चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख भएका हुन् । बाघको मुख्य बासस्थान मानिने चितवनमा भने यसपटक २७ वटा बाघ घटेका छन्, ५ वर्ष अघि त्यहाँ १ सय २० बाघ रहेका थिए । यसपटक बर्दियामा बाघको संख्या निकै बढेको पाइएको छ, अघिल्लो गणनामा त्यहाँ ५० बाघ मात्रै थिए ।
यसअघि सन् २०१३ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० वटा बाघ फेला परेका थिए भने शुक्लाफाँटामा १७, बाँकेमा ४ वटा बाघ अभिलेख भएको थियो । सन् २०१० मा १ सय २१ बाघ थिए । सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको बाघ पाइने मुलुकका राष्ट्र र सरकार प्रमुखहरुको सम्मेलनले बाघ संरक्षणमा जोड दिँदै सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । बाघ पाइने विभिन्न १३ मुलुक आवद्ध पिटर्सवर्ग सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने प्रतिवद्धता जनाएको थियो ।
नेपाल सो लक्ष्यमा सफलतापूर्वक अघि बढिरहेको र नेपालको संरक्षण अभियानमा राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको संरक्षणकर्मी बताउँछन् । बाघ र अन्य दुर्लभ वन्यजन्तुको अवैध चोरी शिकार नियन्त्रणमा भारत र चीनसँगको समन्वय, संरक्षित क्षेत्रमा नियमित सुरक्षा गस्ती, सामुदायिक चोरी शिकारी नियन्त्रण समूह परिचालन भएपछि संख्यामा सुधार आएको उनीहरुको तर्क छ । वन मन्त्रालय र मातहतका निकाय, नेपाली सेना, चोरी शिकारी नियन्त्रण समुह, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल, जेडएसएल नेपाल जस्ता राष्ट्रिय-अन्तर्राष्ट्रिय संरक्षण साझेदार बाघ संरक्षणमा क्रियाशिल छन् ।यो खबर आजको नेपाल समाचारपत्रमा छ ।