बदलिएका तीजका भाका

Sharing is caring!

साउन २५, २०७६ । तीज नजिकिँदै छ। दिदीबहिनी रातो पहिरनमा सजिएर छमछम नाच्न तयार छन्। यसका लागि तीज विशेष थुप्रै गीत बजारमा आइसकेका छन्। जुन आजभोलि नयाँ पुराना तथा रिमिक्स भर्जनमा गाउँघर तथा सहरबजारका गल्लीगल्लीमा गुञ्जिरहेछन्।

चलचित्र कन्यादानको ‘तीजको लहर आयो बरिलै’ गीतले नेपाली हिन्दु महिलाका लागि तीज महत्वपूर्ण पर्व भएको भाव व्यक्त गर्छ। तीजसँग सम्बन्धित यो पुरानो गीत हो। नायिका गौरी मल्लको अभिनय रहेको यो गीतमा वर्षौंपछि भेट भएका दिदीबहिनी एकअर्कालाई खुलेर नाच्न भनिरहेछन्। तीज नेपाली हिन्दु महिलाका लागि हर्ष र उल्लासको पर्व हो। वर्षभरि घरमा सासू, नन्द, आमाजूको गाल सहेर बसेका विवाहित नारीले आफ्नो दुःखका कथा तीजमा नै माइती र साथीसंगीसँग बाँड्थे। गीतमै भनिएको छ ‘नौ डाँडा काटेर गएका चेली भाग्यले भेट्न पाएछौं फेरि।’

तीज सकिएपछि रमाइलो गर्न र दुःखसुखका बात मार्न नपाने हुँदा फेरि गीतमा भनिन्छ ‘को कहाँ पुग्ने हो केही थाहा छैन। आजको भेट फेरि हुने हो हैन।’ सन् १९९१ मा बनेको यो गीतको मर्म अहिले पनि उस्तै छ। तर वैदेशिक रोजगार र दसवर्षे सशस्त्र द्वन्द्वकालपछि यो चाड मनाउने शैली परिवर्तन भयो। सर्वसाधारणमा सामाजिक, आर्थिक र राजनीतिक चेतना बढेसँगै तीज गीतमा सुनिने दुःख आजभोलि सुखमा परिणत भएका छन्।

हिजो माइती घर, धार्मिकस्थल तथा पधेँरो चौतारामा सीमित तीज पर्व अहिले सहर बजारको रमझम भइसकेको छ। पारम्पारिक वाद्यवादन र लोकलयमा गाइने तीज गीत आधुनिक बाजागाजा र अनेक मेलोडीमा बन्न थालेका छन्। यो समयको माग पनि हो। समयको मागलाई बुझेर होला ‘तीजको लहर आयो बरिलै’ गीत रिमेक गरिएको छ। भिडियो नयाँ बनाइएको छ। पुरानो गीतमा गौरी मल्ल र नृत्यांगना गुन्युचोली र सारीमा नाचेका छन्। नयाँ भर्जनको गीतमा फरकफरक डिजाइनका राता सारीमा करिश्मा मानन्धर, भुवन चन्दजस्ता कलाकारले कम्मर मर्काएका छन्। गीतलाई आजका पुस्तालाई छमछप नाच्न मिल्ने बनाइएको छ। साथै महिलाका दुःख पीडा मात्र होइन विविध पक्षसँग जोडिएर अहिलेका तीज गीत बन्न थालेका छन्। यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *