प्राकृतिक प्रकोपबाट जोगिन सरकारका यस्ता छन पूर्वतयारी

Sharing is caring!

असार १३, २०७६ । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी उद्धार र राहतका लागि सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मनसुन सक्रिय भएसँगै बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपबाट बच्ने पूर्वतयारी तथा प्रकोपबाट पीडितको यथाशीघ्र उद्धार र राहतका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिनुभयो ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको यथाशीघ्र उद्धार तथा राहतका लागि सातवटै प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीका साथै सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारीसमेत उहाँले दिनुभयो । त्यसैगरी, मनसुन सक्रिय भएदेखि विपद् पूर्वतयारीका लागि नेपाली सेनाद्वारा इटहरी, काठमाडौँ र सुर्खेतमा हेलिकोप्टरसहितको खोज उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

त्यसैगरी, विपद्पछि आवश्यक राहत सामग्री भण्डारण गरिने मानवीय सहायता स्थलबाट सातवटै प्रदेशमा निर्माण गरिसकेको छ । विपद् पूर्वतयारीका लागि टेन्ट, त्रिपाल, डोरी, जेनेरेटर र प्लास्टिक सिटलगायतका सामग्री भण्डारण गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश गोदाम घरमा विपद् पूर्वतयारीका लागि त्रिपाल, कम्बल, टेन्ट, म्याट्रेसलगायतका राहत सामग्री भण्डारण गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

मानवीय सहायता स्थललाई प्रत्येक प्रदेशमा विस्तार गरिने योजना अनुसार यसपटक धनगढी र नेपालगञ्जमा भण्डारणस्थल स्थापना गरिएको छ । मानवीय सहायता स्थल अहिलेसम्म काठमाडौँमा मात्र रहेको थियो ।

विपद् व्यवस्थापनको आपत्कालीन कार्यको समन्वय गर्न केन्द्रमा राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, प्रदेश २ र ५ बाहेकका प्रदेशहरूमा प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र र ५२ जिल्लामा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा रहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा विभिन्न रणनीतिक स्थानहरूमा विपद्को समयमा हुनसक्ने सडक अवरोधलाई खुलाउन आवश्यक पर्ने हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागबाट दैनिक निकालिने मौसम पूर्वानुमान सबै जिल्ला प्रशासन कार्यालयमा पठाई ती जिल्ला प्रशासन कार्यालयहरूबाट सरोकारवालासमक्ष सूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा दूरसञ्चार सेवा प्रदायक निकायहरूमार्फत तराई र केही पहाडी क्षेत्रमा बाढीको पूर्वसूचना प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन वेबसाइट, फेसबुक र ट्वीटरबाट समेत सूचना प्रभाव गर्ने व्यवस्था मिलाइएको र विपद्को पूर्वतयारीअनुरुप विभिन्न स्थानीय स्तरमा पूर्वअभ्यासका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको जानकारीसमेत प्रवक्ता सुवेदीले दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *