प्रहरी घेराभित्रै डा. केसीको अनशन

Sharing is caring!

असार १७, २०७५ । डा. गोविन्द केसीले प्रहरी घेराभित्रै आमरण अनशन थालेका छन्। पुरानै स्वरूपमा चिकित्सा शिक्षा अध्यादेश जारी गर्न माग गर्दै उनले १५औं अनशन सुरु गरेका हुन्। गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय जुम्लाले केसीले अनशन थाल्ने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुख्य तीन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि डा. केसीका समर्थकले शुक्रबार दिनभर विरोध प्रर्दशन गर्दा जिल्ला सदरमुकाम तनावग्रस्त बनेको थियो।

स्नोल्यान्ड होटलमा बसेका डा. केसी शनिबार बिहान प्रतिष्ठानतिर जाँदै गर्दा टुँडिखेलको माथिल्लो गेटमा प्रहरीले रोकेपछि उनी करिब दुई घण्टा बाटोमै बसेका थिए। लगत्तै नागरिक समाज जुम्लाको नेतृत्वमा डा. केसी र उनका समर्थक विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासनअघि पुगेका थिए। उक्त समयमा प्रहरीले भने निषेधित क्षेत्रमा नाराबाजी गरेको भन्दै डा. केसीका समर्थकमाथि लाठी चार्ज गरेको र डा. केसीलाई पक्राउ गरेको हो। पक्राउपछि करिब दुई घण्टा जिल्ला प्रहरी कार्यालयको प्रतीक्षालयमा बिताएका उनले त्यहीँबाटै अनशन थालेका हुन्। डा. केसी पक्राउ परेपछि समर्थकले बाहिर चर्को नाजाबाजी गरेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।

तर डा. केसीका समर्थक, सहयोगी तथा भाइ किशोर केसीले प्रहरीले पक्राउ गरेको समयमा डा. केसीले अनशन थालेको भन्दै आफूहरूले उनको जिम्मा नलिने दाबी गरेका छन्। प्रहरीको सुरक्षासहित निगरानीमा रहेका डा. केसीले अनशन थाले पनि उनलाई कहाँ बस्न दिने भन्ने विषयमा टुंगो लागेको छैन। अहिले केसीलाई कडा सुरक्षा दिएर प्रहरीले जिल्ला कभर्ड हलमा राखेको छ।

जुम्लावासीको समर्थन

डा. केसीको समर्थनमा यहाँका युवा तथा नागरिक समाजका सदस्य सडकमा निस्किएका छन्। भाइलाई सहयोगी बनाएर जुम्ला पुगेका डा. केसीलाई नागरिक समाजको नेतृत्वमा यहाँका युवाले पूर्ण साथ दिएका हुन्। डा. केसीले थालेको आन्दोलन सकारात्मक एवं कर्णालीवासीको हितमा रहेको दाबीसहित यहाँका युवा आन्दोलित भएका हुन्।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको र पक्राउ पुर्जीबिना डा. केसीलाई नियन्त्रणमा लिइएकोप्रति युवाहरूले ध्यानाकर्षणपत्र जारी गरेका छन्। केसीको माग सम्बोधनका लागि भएका शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भए कडा संघर्षका आन्दोलन थाल्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले चेतावनी दिए। राज्यले प्रतिष्ठानमा लामो समयसम्म एमबीबीएस पढाइको बाटो खुला नगरेकोमा आपत्ति जनाउँदै माग सम्बोधन नभए केसीको अनशनसँगै आफूहरू पनि जोखिम मोल्न तयार रहेको उनको भनाइ छ।

प्रतिष्ठानमा अनशन बस्न जाने क्रममा प्रहरीले बाटोमै रोकेपछि डा. केसीले प्रधानमन्त्रीलाई चेतावनीसमेत दिएका छन्। ‘ओलीजी अस्पताल प्रवेशमा रोक लगाउन सक्छौ। तर मेरो मुख बन्द गर्न सक्दैनौ’, उनले प्रश्न गरे, ‘मेरो नागरिक अधिकार हनन किन ?       कति दिन तानाशाही शासन चलाउँछौ ? ’

माग पूरा नभएसम्म कसैले पनि आफ्नो अनशन रोक्न नसक्ने उनको भनाइ छ। ‘सरकारले अनशनमाथि अवरोध सिर्जना गरिरहेको छ। म त्यसको खतरा मोल्न तयार छु’, उनले भने, ‘तर अनशन तोड्दिनँ। नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले खेलवाड गर्न मिल्दैन। म नागरिक र चिकित्सा शिक्षाको सुधारका लागि राज्यलाई दबाब दिन अनशन बसेको हुँ। तर संविधानमै लेखिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध प्रशासनले प्रतिबन्ध लगाएर त्यसको नतिजा गलत निम्त्याउन खोज्दै छ।’यो खबर आजको अन्नपुर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *