प्रश्नोत्तर नगराउँदा संसद् नै स्थगित

Sharing is caring!

पुस २३, २०७५ । प्रतिनिधिसभा बैठकमा आफ्नो कार्यकालमा भएका कामको विषय सदनलाई जानकारी गराएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर नगराउँदा बैठक नै स्थगित गर्नुपरेको छ । आइतबारको बैठकमा सम्बोधनपछि सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तर कार्यक्रम नराखे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रश्नोत्तर गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरे ।
कांग्रेस सांसदले रोस्ट्रममा नाराबाजी गर्दै बेल घेराउ गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो । स्थगित भएको बैठक सञ्चालन गर्न सभामुख महराले प्रधानमन्त्री ओलीलाई प्रश्नोत्तरमा सहभागी हुन आग्रह गरे तर सफल हुन सकेनन् । त्यसपछि सूचना टाँस गरेर सभामुखले स्थगित संसद् बैठक २५ पुसमा बस्ने जानकारी गराए ।
प्रधानमन्त्री ओलीले आइतबार संसद्मा सार्वजनिक महŒवको विषयमा वक्तव्य दिने कार्यसूची शुक्रबारै तय भएको थियो । सहमतिअनुसार प्रधानमन्त्रीले आइतबार वक्तव्य दिने भएपछि कांग्रेसले प्रश्न सोध्न बैठकअघि नै सभामुखसँग समय मागेको थियो ।

कार्यव्यवस्था बैठकमै प्रतिपक्षले आग्रह गरेपछि सभामुख महराले भने प्रधानमन्त्रीको समय कम भएको भन्दै प्रश्नोत्तर कार्यक्रम नराख्ने जनाउ दिएका थिए । कांग्रेस नेताहरूले प्रश्नोत्तर नै नहुने भए सम्बोधन पनि गर्न नदिने बताएको संसद् सचिवालय स्रोतले जनाएको छ । त्यस्तो परिस्थिति आउनुभन्दा थोरै प्रश्न राख्ने समय उपलब्ध गराउने सभामुखले प्रतिबद्धता जनाए । तर, प्रधानमन्त्रीको सम्बोधनपछि उनले प्रश्नोत्तरको कार्यक्रम नभएको जनकारी सदनलाई दिए । त्यसपछि कांग्रेस सांसदहरूले उठेर विरोध गर्न सुरु गरेका हुन् ।

‘प्रधानमन्त्रीलाई सबैले प्रश्न सोध्न खोजेका थिए । समय कम छ भन्ने भएपछि हामीले पाँच जनाको नाम दिएका थियौं,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘तर, सम्बोधनपछि सभामुखले नै प्रश्नोत्तरका लागि समय छुट्याइएको छैन भनेपछि हामीले विरोध जनाएका हौं ।’ उनका अनुसार सभामुखसँगको सल्लाहमै कांग्रेसले पाँच जना सांसदको नाम बुझाएको थियो । सभामुख महराले बैठकअघि नै प्रश्नोत्तरबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । ओलीले भने ‘समय छैन, किन गर्नु प्रश्नोत्तर’ भन्दै टारिदिएका थिए । कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने अडान राखेपछि विवाद उत्पन्न भएको थियो ।
कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिए । महराले कांग्रेस सांसदहरूको माइक खोलेनन् । कांग्रेसका मीनेन्द्र रिजाल र दिलेन्द्र बडुले बोल्न पटक–पटक समय मागे तर महराले माइक खोलेनन् । महराले पुनः बैठक अघि बढाउन थालेपछि कांग्रेस सांसदहरूले होहल्ला गर्दै टेबल ठोक्न सुरु गरे । त्यसपछि महरा सीमित सदस्यलाई प्रश्न सोध्न दिन तयार भए । कांग्रेस सांसदहरूले भने सबैलाई प्रश्न सोध्न दिनुपर्ने अडान राखे । सीमित सदस्यलाई प्रश्न राख्न दिने भनेपछि नेमकिपाका प्रेम सुवालले पनि विरोध गरे । संघीय समाजवादी फोरमकी सरिता गिरी पनि प्रश्न सोध्न माग गर्दै उठिन् ।

सभामुख महराले कांग्रेस सांसद रिजाललाई बोल्न समय दिए । उनको माइक भने खोलेनन् । रिजालले सबैलाई प्रश्न सोध्न दिनुपर्ने अडान कायम राखे । महराले त्यसपछि ‘प्रश्नोत्तर गर्न अनुमति भएन’ भन्दै चेयरबाट घोषणा गरिदिए । यतिबेलासम्म बसेको ठाउँबाट नउठेका कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार र अर्का नेता प्रकाशमान सिंह पनि उठे । लगत्तै कांग्रेस सांसदहरूले ‘बेल’ घेराउ गरे । सभामुख महराले सरकारसँग मिलेमतो गरी बोल्न समय नदिएको भन्दै उनीहरूले नाराबाजी सुरु गरे । नाराबाजीबीच महराले निवृत्तीभरण कोष विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्न अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाललाई अनुमति दिए । दाहालले प्रतिवेदन पढुन्जेल कांग्रेस सांसदहरूले नाराबाजी र होहल्ला गरिरहे । कांग्रेसले बेल घेराउ गरेपछि महराले बैठक स्थगित गरे ।

कांग्रेस सांसद गगन थापाले सरकारसँगको मिलेमतोमा सदनलाई सत्तापक्षको छाया बनाउन खोजिएको आरोप लगाए । ‘संसद्को रोस्ट्रमबाट प्रधानमन्त्री राष्ट्र निर्माणमा मिलौं भन्ने,’ उनले पत्रकारहरूसँग भने, ‘अनि हुकुमी शैलीमा सदन चलाउन खोज्ने ?’ नेकपाका प्रमुख सचेतक देव गुरुङले भने प्रधानमन्त्रीसँग धेरै प्रश्नको जवाफ दिने समय नभएकाले संसद् बैठकमा प्रश्नोत्तर सम्भव नभएको बताए । ‘सीमित प्रश्नका लागि सभामुख तयार हुनुहुन्थ्यो,’ उनले भने, ‘धेरै प्रश्नको जवाफ दिने समय प्रधानमन्त्रीसँग थिएन ।’ कांग्रेस प्रमुख सचेतक खाँडले पुस २५ गतेको बैठकमा पनि प्रधानमन्त्रीले जवाफ नदिए बैठक सञ्चालन गर्न नदिने चेतावनी दिए ।यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *