आन्तरिक ढुवानीमा ‘ट्र्याकिङ सिस्टम’ शुरू: व्यवसायीहरू आन्दोलनको तयारीमा

Sharing is caring!

साउन १, २०७६ । व्यावसायिक प्रयोजनका लागि देशभित्र मालसामान ओसारपसार गर्नुअघि ढुवानी गरिने सामानको विवरण निर्धारित वेब पोर्टलमा ‘इन्ट्री’ गराउनुपर्ने व्यवस्था सरकारले आज (साउन १) देखि लागू गरेको छ । उद्योगी तथा व्यवसायीले भने भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) नामको उक्त व्यवस्था तत्काल खारेज गर्न माग गर्दै अन्यथा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

एक हजार रुपैयाँभन्दा बढी ज्याला भुक्तानीमा स्थायी लेखा नम्बर (प्यान) को अनिवार्य व्यवस्था तथा ढुवानी व्यवसाय र आधारभूत खाद्य वस्तुमा लगाइएको मूल्य अभिवृद्धि कर हटाउनुपर्ने विषय समेत जोडी उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

देशभर मालवाहक गाडी सञ्चालनमा सहजीकरणका लागि भन्दै सरकारले भीसीटीएस प्रणाली लागू गरेको हो । यो प्रणाली असारदेखि आंशिक रूपमा लागू गरिएको र त्यसैलाई बुधवारदेखि पूर्ण कार्यान्वयनमा ल्याइएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । विभागका अनुसार मालवाहक सवारीसाधनहरूबाट सामान ओसारपसार गर्नुअघि ढुवानी कम्पनी वा व्यवसायी वा आयातकर्ताले त्यसको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा ‘इन्ट्री’ गर्नुपर्ने कानूनी व्यवस्था कार्यान्वयनका लागि विकास गरिएको सप्mटवेयर नै भीसीटीएस हो ।

यसबाट वैध व्यापार सहजीकरण भई अवैध व्यापारमा निगरानी बढ्ने विभागको दाबी छ । भीसीटीएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि कहीँ पनि विभागका चेकपोस्ट नरहने महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । ‘यो प्रणाली मार्पmत ढुवानीकर्ताका सम्पूर्ण विवरण अनलाइनबाटै जानकारी लिन सकिनेछ,’ उनले भने ।

ढुवानी गरिएको सामानबारे अनलाइनमै घोषणा गरिएपछि गाडी गन्तव्यतर्फ प्रस्थान गर्दा बाटोमा पर्ने विभागको ढाटमा प्रज्ञापनपत्र वा बिलबिजक बुझाउनुपर्ने झन्झट हट्ने मैनालीको भनाइ छ । तर, आवश्यकता पर्दा विभागको इन्टेलिजेन्स एकाइले जुनसुकै समयमा जहाँ पनि जाँच गर्न सक्ने समेत मैनालीले स्पष्ट पारे । उनका अनुसार यस प्रणालीबाट स्वेच्छिक कर सहभागिता बढाउन, स्वस्थ व्यावसायिक प्रतिस्पर्धा प्रवद्र्धन गर्न तथा आर्थिक कारोबारलाई पारदर्शी र भरपर्दो बनाउन थप सहयोग पुग्नेछ । यसअघि तेस्रो मुलुकबाट सामान आयात गर्दा प्रयोग हुने कन्टेनरहरूमा यस्तै व्यवस्था (इलेक्ट्रोनिक ट्र्याकिङ सिस्टम) लागू भइसकेको छ ।

भीसीटीएस प्रणाली कार्यान्वयनका लागि मोबाइल एप पनि बनाइएको छ, जसमा व्यवसायीले निःशुल्क एकाउन्ट खोल्न र प्रयोग गर्न सक्नेछन् । यस प्रणाली अनुसार उद्गम विन्दुबाट सामान बोकेर मालवाहक गाडी प्रस्थान गर्नुअघि सम्पूर्ण विवरण वेबसाइटमा उपलब्ध ढाँचामा भर्नुपर्छ । त्यसमा सामानको विवरणसँगै गाडी नम्बर, चालकको नाम र सवारी चालक अनुमतिपत्रको विवरण लगायत उल्लेख गर्नुपर्छ ।यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *