प्रधानमन्त्रीको स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुन्छ: सल्लाहकार डा. भट्टराई

Sharing is caring!

माघ ४, २०७५ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी आईतबारबाट हुने ६ दिने स्वीट्जरल्याण्ड भ्रमण फलदायी हुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म हुने उक्त भ्रमण र स्वीट्जरल्याण्डको डाबसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले प्रधानमन्त्रीले यो फोरममार्फत नेपालको आफ्नो आर्थिक पोलिसीपनि सेयर गर्ने जनाए । उनले भने,‘नेपालमा अहिले राजनीतिक स्थायित्व भएको छ । अब आर्थिक विकास र समृद्धिलाई बढावा दिईरहेका छौं भनेर उहाँले आफ्नो धारणा राख्नुहुनेछ ।’

मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पुरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने उनको भनाई छ । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पु¥याउनेछ,”–उनले भने ।
विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए । उनले भने,‘नेपालमा लगानी तथा व्यापार गर्नको लागि प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समूदायलाई आकर्षित गर्नुहुन्छ ।’

नेपाल लगानीको लागि अनुकुल छ भनेर प्रधानमन्त्रीले आफ्नो धारणा राख्ने बताउँदै उनले भने,‘नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न यो फोरम उपयुक्त फोरम हो ।’

प्रधानमन्त्रीले भ्रमणका बेलामा विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीहरुसँग भेटघाट हुने कार्यक्रम समेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाई छ ।

उनका अनुसार प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा तीन वटा महत्वपूर्ण प्यानलमा प्रमुक्त वक्ताको रुपमा बोल्ने कार्यक्रम तय भएको छ । उनले भने,‘हाम्रो प्रधानमन्त्रीले स्टा«टेजी आउटलुक अन साउथ एशियामा पनि बोल्नुहुन्छ । अर्को, सेपिङ द फ्युचर अफ डेमोक्रेसी भन्ने प्यानलमा पनि भाग लिनुहुनेछ । त्यस्तै, उहाँले जि–२० का केही हेड अफ द स्टेट र प्रभावशाली नेताहरु सम्मिलित हुने प्यानलमा पनि वक्ताको रुपमा सहभागी जनाउनुहुनेछ ।’

यसका अलावा प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री र ईजरायलका प्रधानमन्त्रीसँगपनि साईडलाईन भेटवार्ता गर्ने कार्यक्रम रहेको भट्टराईले सुनाए । उनले भने,‘उहाँहरुबाट भेटवार्ताको लागि अनुरोध आएको छ। भ्रमण तय भए नभएको मलाई ठ्याक्कै थाहा छैन । तर, आग्रह गरेको छु ।’ “सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउनका लागि नेपालले प्रयोग गर्नुपर्छ,”–उनले भने ।

उनले प्रधानमन्त्रीको भ्रमण समग्र रुपमा फाईदाजनक हुने विश्वास दिलाए । उनले भने,‘ज्ञान, प्रविधि र पुँजी भित्र्याउनको लागि यो भ्रमण फलदायी हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *