प्रधानमन्त्रीको युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने: डा. भट्टराई

Sharing is caring!

जेठ २४, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको भोलिबाट सुरु हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने स्पष्ट पारे । उनले भने,‘हाम्रो विकासलाई पुँजी, प्रविधि र ज्ञानको आवश्यकत्ता छ, सोहीअनुसार सहयोग लिनको लागि पनि यो भ्रमण फलदायी हुनेछ ।’

उनले भ्रमणको दौरान द्धिपक्षीय विषयमा पनि छलफल हुने विश्वास दिलाए । भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले राख्ने पनि उनले जनाए ।

भट्टराईले ब्रिटिश गुर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्नेपनि जनाए । उनले भने,‘बेलायसँगको हाम्रो सम्बन्ध १९४७ को सन्धिले गाईड गर्छ । मलाई लाग्छ यसमा तलमाथि हुँदैन् । तर, यो सन्धिले लामो समय पार गरेको छ । हामी अहिले परिवर्तित परिस्थितिमा छौं । यस सम्बन्धमा छलफल चल्न सक्छ । आ–आफ्नो अपिनिएन राख्न सकिन्छ । तर नयाँ सन्धि तथा सम्झौता गर्ने तहमा हुँदैन ।’

उनकाअनुसार प्रधानमन्त्री ओली जेनेभास्थित आई.एल.ओको सय वर्ष पुगेको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा चौथो वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ ४० राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहनेछ ।

त्यस्तै, प्रधानमन्त्रीको बेलायत भ्रमण अक्सफोर्ड विश्विद्यालयमा सम्बोधन गरेर औपचारिक रुपमा सुरु हुनेपनि उनले जानकारी दिए । त्यस्तै, पेरिसमा पनि विभिन्न उच्च तहका भेटवार्ता हुने र नेपाली समूदायसँगपनि भेटवार्ता हुने कार्यक्रम  तय भएक छ ।

ईण्डो–प्यासिफिक स्ट्राटेजीमा नेपाल सहभागी हुन लागेको हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘हामीले हाम्रो नीति तय गर्दा राष्ट्रिय आवश्यकत्तालाइ ध्यान दिन्छौं । कसैले प्रस्ताव ल्याउँदैमा हामी जोडिनुपर्छ भन्ने हुँदैन् । हामी राष्ट्रिय हितलाई ध्यान दिन्छौं ।’ उनले सरकारले संयु्क्त राष्ट्रको वडापत्र, पञ्चशीलको सिद्वान्त, असंलग्न परराष्ट्र नीति, परस्परिक लाभ र राष्ट्रिय स्वार्थका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने पनि जनाए ।

भट्टराईले नेपालको भौगोलिक अवस्थितिका आधारमा यता उता हुने अवस्था नभएको जिकिर गरे । उनले भने,‘हामी राष्ट्रिय हितको आधारमा निर्णय लिन्छौं ।’ ईण्डो–प्यासिफिक स्ट्राटेजीबारे नेपालमा चर्चा सुरु भएको सुनाउँदै उनले यस सम्बन्धमा संसद, मिडिया र विज्ञहरुसँग छलफल हुनेपनि विश्वास दिलाए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *