प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै एमाले

Sharing is caring!

साउन १०, २०८० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध गर्न लागेको हो । एक साता अघि त्रिभुवन

विमानस्थलबाट ट्याक्सीमा ब्रेक शुसहित झन्डै १सय किलो सुन बरामद भएको छ । विमानस्थलबाट ठूलो मात्रामा सुन बाहिरिँदासमेत सुरक्षाको उचित प्रवन्ध गर्न नसकेको जनाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग्दै एमाले संसद अवरुद्ध गर्न लागेको हो ।

त्यसका लागि उसले मध्यान्न १२ बजे संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । विमानस्थलको सुन प्रकरण उपप्रधान तथा गृह मन्त्री र अर्थमन्त्रीको मिलेमतोमा भएको आशंका व्यक्त गर्दै संसदमा त्यस विषयमा सरकारको जवाफ माग गर्ने गिरीले जानकारी दिए ।

‘सरकारले विमानस्थलको सुनप्रकरणमा चित्तबुझ्दो जवाफ नदिए संसद सञ्चालन हुनसक्दैन,’ गिरीले भने,‘सरकारको रबैयामा संसद चल्ने वा नचल्ने भरपर्दछ । हामी जिम्मेवार ढुंगाबाट प्रस्तुत हुन्छौं ।’ गिरीले दलको बैठकमा सदस्यहरुको सुझावका आधारमा अघि बढ्ने पनि बताए । बैठक नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा आह्वान गरेको छ ।

सोमबार राति मात्र कम्बोडियाबाट स्वदेश फर्केका एमाले अध्यक्षसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सुन काण्डमा आफ्नो संलग्नता रहे, नरहेको गृहमन्त्री श्रेष्ठलाई प्रष्ट पार्न आग्रह गरेका थिए । विमानस्थलमा निकै आक्रोशित देखिएका ओलीले काँक्रा आफू खाएर बियाँ अरूको गालामा टाँस्ने चेष्टा भइरहेको आरोप पनि लगाएका थिए । उक्त प्रकरणमा १० जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

यसैबीच, माओवादी केन्द्रका नेताहरू पनि पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आन्तरिक छलफलमा जुटेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा नेताहरू छलफलमा जुटेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *