पहिलो पटक विदेशी लगानीको ‘हेजिङ’

Sharing is caring!

असार २९, २०७५ । लामो अवधिको विदेशी लगानी प्रोत्साहन गर्न नेपाल राष्ट्र बैङ्कले विदेशी विनिमय जोखीम व्यवस्थापनका लागि हेजिङ सुविधा उपलब्ध गराउने भएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को मौद्रिक नीति बुधवार सार्वजनिक गर्दै पूर्वाधार परियोजनाहरूमा भित्रिने विदेशी लगानीका लागि पहिलोपटक यस्तो व्यवस्था गर्ने नीति लिएको हो ।

केन्द्रीय बैङ्कले मौद्रिक नीतिमार्फत पूर्वाधारका परियोजनाहरूमा भित्रिने विदेशी लगानीलाई सोही बैङ्कमै ‘कोष’ स्थापना गरी हेजिङ सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने भएको छ । मौद्रिक नीतिमा भनिएको छ, ‘कोषले विदेशी लगानीकर्ताले बेहोर्नुपर्ने विदेशी विनिमयमा निहित जोखीम व्यवस्थापन गर्न सहयोग पुरयाउनेछ ।’ यस्तो सुविधाबाट ठूला जलविद्युत् आयोजना, प्रसारण लाइन, सडक तथा अन्य पूर्वाधार परियोजनामा वैदेशिक लगानी आकर्षित हुने विश्वास गरिएको छ ।

यस्तै केन्द्रीय बैङ्कले विदेशी लगानीलाई प्रोत्साहित गर्न र यो नीति कार्यान्वयन गर्न कार्यविधि तयार गर्ने उल्लेख गरेको छ । मुलुकलाई उच्च आर्थिक वृद्धि प्राप्त गर्दै समृद्ध देश बनाउने घोषणा गरेको सरकारले वैदेशिक लगानीलाई आकर्षित गर्न यस्तो व्यवस्था गरेको हो । ठूला पूर्वाधार परियोजना विकास गर्दा ठूलो लगानी आवश्यक हुने र त्यसका लागि वैदेशिक लगानी नै भित्र्याउनुपर्ने अवस्था अहिले नेपाललाई छ । वर्तमान सरकारले नेपालमा फाष्ट ट्र्याक, विभिन्न प्रकारका रेलदेखि अहिले जलमार्गसम्मका परियोजना बनाउने घोषणा गरिसकेको छ । अहिले ठूलो क्षमताका जलविद्युत् आयोजनाहरूमा पनि विदेशी लगानी नै आइरहेको छ । नेपालले ठूलो परिणाममा लगानी गर्न नसक्ने अवस्थामा यो व्यवस्थालाई सकरात्मक मान्न सकिने सरोकारवाला बताउँछन् ।

विदेशी विनिमय बजारमा हुने उत्तारचढावका कारण सृजित जोखीम न्यूनीकरण गर्ने उपकरणको रूपमा हेजिङलाई लिन सकिन्छ । यसले विदेशी मुद्रामा लगानी भित्र्याउँदा मुद्राको दरमा हुने उतारचढावलाई सम्बोधन गर्छ । नेपालको मुद्रा मूल्य अस्थिर र भारतीय मुद्राको मूल्यमा भर पर्ने अवस्था छ ।यो खबर आजको कारोबारमा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *