उमेरहद संशोधन गर्न माग

Sharing is caring!

साउन २८, २०७६ । नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको वैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोे उमेर हदबन्दी संशोधन गर्नुपर्ने माग निजी बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरूले गरेका छन् । केन्द्रीय बैंकमा सञ्चालकको उमेरहद विरुद्ध दुईओटा समूहले छुट्टाछुट्टै पत्र बुझाएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । ‘एउटा पत्रमा बैंक तथा वित्तीय संस्थाका संस्थापक शेयरधनीको बेनामी पत्र आएको छ । अर्को पत्र चार जना सञ्चालकको नामसहित आएको छ,’ स्रोतले भन्यो, ‘पत्रमा राष्ट्र बैंकले उमेर हदबन्दी लगाउन नपाउने बताउँदै मागको सुनुवाइ नगरिए कानूनी उपचार खोज्न बाध्य हुने चेतावनी दिइएको छ ।’

राष्ट्र बैंकले गत हप्ता एकीकृत निर्देशन, २०७५ लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाका ७० वर्ष पुगेका व्यक्ति सञ्चालकमा नियुक्त तथा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ । साथै, ७४ वर्ष नाघेको व्यक्ति सञ्चालकमा बहाल नहुने नीति ल्याएको छ ।

यस्तै, ६५ वर्ष नाघेका व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्त हुन नपाउने र ६९ वर्ष नाघेको सीईओ स्वतः पदबाट अवकाश हुने व्यवस्था गरेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाको सीईओ तथा सञ्चालकका लागि उमेर हद तोकिएको थिएन ।

आफू उमेर हदबन्दी संशोधनको माग राख्न पत्र बुझाउन नगए पनि राष्ट्र बैंकको निर्देशनविरुद्ध खडा भएको सनराइज बैंकका निर्देशक बच्छराज तातेडले बताए । राष्ट्र बैंकको यो निर्देशन व्यावहारिक नभएकोबारे सबै सञ्चालकले गुनासो गरेको उनले जानकारी दिए । केन्द्रीय बैंकले सरोकारवालाबाट सुझाव नलिई एक्कासि निर्णय गर्दा लगानी जोखिममा परेको उनको तर्क छ । ‘केन्द्रीय बैंकले हाम्रो व्यवसाय तथा लगानीको संरक्षण गरिदिनु पर्‍यो । यसरी अपर्झट निर्देशन दिनु गलत हो, यसलाई संशोधन गरिनुपर्छ,’ उनले भने ।

केन्द्रीय बैंकको निर्देशनले एभरेष्ट बैंक र नबिल बैंकका अध्यक्ष, प्राइम बैंकका प्रमुख कार्यकारी निर्देशक लगायत विभिन्न बैंकका सञ्चालकलाई उमेर हदबन्दीका कारण सञ्चालकबाट हट्नुपर्ने बनाएको छ । सञ्चालक तथा सीईओ लामो समयसम्म एउटै संस्थामा रहँदा मोनोपोली हुनसक्ने र सुशासनमा समेत आँच आउन सक्ने भएकाले उमेर हदबन्दी तोकिएको केन्द्रीय बैंकले बताएको छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *