डा. गोविन्द केसीको अनशन १४औँ दिनमा

Sharing is caring!

असार २९, २०७५ । जुम्लामा १४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार बिहीबार केसीको मुटुमा समस्या देखिएको हो ।

बुधबार सामान्य अवस्थामा रहेका केसी बिहीबार निकै सिकिस्त भएको उनका सहयोगी डा. जीवन क्षेत्रीले बताए । डा. क्षेत्री केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि जुम्ला गएका थिए । उनका अनुसार बिहीबार दिनभर केसी बोल्न सकेनन् । मुटुमा समस्या भएका कारण उनको बोलीमा समस्या आएको डा. क्षेत्रीले बताए ।

डा. गोविन्द केसीको उपचारमा कठिनाइ भएपछि उपचारमा संलग्न चिकित्सकहरूले एयरलिफ्ट गर्न सल्लाह दिएका छन् । डा. केसीले सल्लाह नमानेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले चिकित्सकहरू पूजनकुमार रोकाया, धीरज गुरुङ, सिद्धार्थ खाती र नीराजन महासेठले एयरलिफ्ट गर्न सुझाब दिएका हुन् । केसीको जटिल स्वास्थ्य अवस्थाअनुसार आइसियूको आवश्यकता परे पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियू छैन ।

माग पूरा गरेर मात्रै काठमाडौं फर्किने केसीको अडान
अनशनरत डा. केसीले माग पूरा नहुँदासम्म जुम्लामै बस्ने बताएका छन् । बुधबार र बिहीबार सरकारले केसीलाई ल्याउने प्रयास गरे पनि उनकै अडानका कारण सरकारी प्रयास सफल हुन सकेन । सरकारले केसीलाई काठमाडौं ल्याएर संवाद गर्ने बताएको छ । तर, जुम्लामा माग पूरा गरेर मात्रै काठमाडौं फर्किने उनको अडान छ । ‘माग पूरा नभएसम्म काठमाडौं जाने मनस्थितिमा केसी हुनुहुन्न,’ डा. क्षेत्रीले भने, ‘त्यसैले सरकारले काठमाडौं लाने भन्ने विषय टाढाको कुरा हो ।’ यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *