दाहालको अभिव्यक्ति: जंगलप्रेम कि रणनीति ?

Sharing is caring!

बैशाख २६, २०७६ । सशस्त्र द्वन्द्व अन्त्य गरेको १२ वर्षपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले जंगल जाने कुरा किन गरे ? यसबारे सर्वत्र जिज्ञासा उठेको छ । ‘म फेरि एकचोटि सम्पूर्ण चिज त्याग गरेर जंगल जान सक्छु भन्ने विश्वास छ । मलाई पटक्कै गाह्रो लाग्दैन,’ उनले आइतबार राजधानीको मार्क्स जयन्ती कार्यक्रममा भने, ‘अर्को एउटा क्लाइमेक्समा यो पार्टी र आन्दोलनलाई लगेर माथि जाने विचार छ ।’

दाहालले जंगल जाने कुराको अर्थ हुन्छ, सशस्त्र द्वन्द्वको बाटो लिने । २०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेका बेला ‘जंगल पसेको’ भनिएको थियो । त्यसपछिको १० वर्षे अवधिमा उनको जंगलसित प्रेम बस्यो किनकि सशस्त्र द्वन्द्व टिक्नुमा जंगल पनि एक कारण हो । अहिले सशस्त्र द्वन्द्व गर्ने अवस्था छैन, तैपनि उनमा जंगल पस्ने मोहभंग भइसकेको रहेनछ ।

सामान्य अर्थमा दाहालको भनाइ नेकपालाई सुधार गर्ने अभिव्यक्तिका रूपमा लिन सकिन्छ । तर उनले जुन भाषा प्रयोग गरे, त्यो विद्रोही अवस्थामा प्रयोग हुने खालको छ । आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहँदा आएको जंगल पस्ने अभिव्यक्ति विरोधाभासपूर्ण लाग्छ । आफैं सरकारमा अनि आफैं जंगल पस्ने चेतावनी कसलाई दिएको हो ? पूर्ण रूपमा शान्ति–प्रक्रियामा आइसकेको, लोकतान्त्रिक व्यवस्था अँगालेका नेकपाका एक अध्यक्षको यस्तो अभिव्यक्ति किन ? दाहालनिकट नेता चूडामणि खडका भन्छन्, ‘पार्टीलाई सुधारका लागि कठोर कदम चाल्ने उहाँको आशय हो । जंगल पसेर युद्ध गर्ने सोझो अर्थ होइन ।’

त्यसो त सशस्त्र द्वन्द्वको छाप दाहालमा अझै छ । उनी बेलाबेला कठोर शब्द प्रयोग गर्दा त्यस बेलाको प्रसंग उठाउँछन् । दाहालले आफ्नो मन्तव्यमा ‘लाखौं मान्छेको बीचमा एक्लो महसुस गरेको र मनोबल कमजोर भएको’ समेत बताए । ‘लाखौं कार्यकर्ता छौं, राज्यसत्ताको नेतृत्व गर्ने ठाउँमा आइपुगेका छौं । संसारै जितिन्छ भन्ने आत्मविश्वास, मानोबल थियो । अहिले केही पनि सकिँदैन भन्ने किन भा छ ?’ उनले आफैंलाई प्रश्न गरे, ‘हामी थोरै हुँदा लाखौं, करोडौं र अर्बौं जनताका नेता, प्रतिनिधि हौं भनेर गर्वका साथ हिँडिन्थ्यो । अहिले पार्टी यत्रो विशाल छ, सबै एक्लाएक्लै छौं क्यारे ।’

दैनिक दर्जनौं नेता–कार्यकर्ता भेट्ने, सयौं मान्छेबीच भाषण गर्ने नेकपा अध्यक्ष दाहालले एक्लो महसुस भएको बताउँदा जिज्ञासा उठ्नु स्वाभाविक छ । के उनी हजारौं कार्यकर्ताबीच एक्लिएकै हुन् ? राजनीतिक घटनाक्रमले त्यस्तो देखाउँदैन । पार्टी एकतापछि दाहाल झन् ठूलो मासको नेता भएका छन् । निर्वाचनपछि शक्तिशाली भएका छन् ।

उनले नेता–कार्यकर्ताबीच ‘कमरेडली’ सम्बन्ध नभएको प्रसंग कोट्याउँदै युद्धकालीन दिन असल भएको सम्झिए । ‘जनयुद्ध गर्दा कहिले जंगलमा सुतियो, कहिले कहाँ ? त्यति बेला जंगलजस्तो लाग्दैनथ्यो । त्यस बेला सबैको प्रेम, विश्वास भएजस्तो लाग्थ्यो, एक्लै हुँदा पनि लाखौं करोडौं मान्छेको बीचमा भएको अनुभूति हुन्थ्यो,’ उनले थपे, ‘अहिले लाखौंको बीचमा काठमाडौंमा आउँदा जंगलमा आएजस्तो हुन थाल्यो । कोही पनि आफ्नो होइन कि जस्तो । आफू पनि अरूको होइन जस्तो । एक्लै हुन थालियो । के भा हो ? विचित्र छैन त कमरेडहरू ?’ उनले आफ्ना नेता–कार्यकर्ताप्रति यसरी तिखो व्यंग्य गरे । साथै नेता–कार्यकर्ताको कार्यशैली सुविधाभोगी भएको बताए ।

कुनै बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र युद्धलाई जंगल पसेको भन्दै व्यंग्य गरेका थिए । दाहालको पछिल्लो भनाइ ओलीप्रति संकेत नभए पनि उनले अहिलेभन्दा जंगलमा बसेको अर्थात् द्वन्द्वको अवस्थालाई मिठो गरी सम्झिए । दाहालले एक्लो महसुस गर्नुपर्ने अनौठो अवस्था कसरी आयो, व्याख्या गरेनन् । बरु विद्रोही नेताले प्रयोग गर्ने अर्को अभिव्यक्ति दिए । ‘अहिले छ, सात लाख मेम्बर (सदस्य) जुरुक्क उठ्ने हो भने दलाल पुँजीपति नोकरशाहलाई लखेट्ने तागत छ हामीसँग,’ उनले प्रश्न गरे, ‘हिम्मत हारेजस्तो, उत्साह मरेजस्तो किन भयो ? सवाल हो यो । केही मिस भएको छ । त्यो मिस भएको खोजी गर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *