नेपालमा बाघको संख्या तीन गुणाले बढ्यो

Sharing is caring!

साउन १३, २०८० । पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ ।

आज विश्व बाघ दिवस नेपालमा बाघको संख्या तेब्बरले बढेसंगै बाघ र मानिस बीचको द्वन्द्व पनि पछिल्लो समय बढ्दै गएको छ । बाघकै आक्रमणबाट धेरैले ज्यान गुमाएका पनि छन् । यसवर्षको नारा ‘मानव–बाघ सहअस्तित्व’ भन्ने रहेको छ । नेपालमा पनि सरोकारवाला निकायबाट विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ ।

दिवसकै अवसर पारेर आज बाघसम्बन्धी दश सर्भे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको छ । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी विविध मुख्य विषयमा छलफल गर्ने तयारी वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

विश्वका १३ देशमा मात्र पाईने पाटे बाघको संरक्षण गर्न हेतु सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले पहिलो विश्व बाघ सम्मेलन गरेको थियो । सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने घोषणा पनि गरेको थियो । सोहि अनुसार नेपालले पनि सन् २०२२ सम्ममा तत्कालीन समयमा नेपालमा रहेको बाघको संख्यालाई बढाएर दोब्बर बनाउने प्रतिवद्धता गरेको थियो । तर, नेपाल पाटे बाघ संरक्षणमा राम्रो मात्रै देखिएन लक्ष्य भन्दा बढी बाघको संख्या बढाउन सफल भएको छ ।

सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या एक सय २१ थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ ।

बाघ गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ वटा,बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्याङ्क छ । नेपाल बाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । पछिल्लो समय नेपालमा बाघको संख्या बढेसंगै मानवमा बाघले गर्ने आक्रमण पनि झनझन् बढ्दै गएको छ । पछिल्लो पाँच वर्षमा मात्रै बाघको आक्रमणमा परि ५८ को मृत्यु भएको छ । त्यसमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७८-७९ मा २१ जनाले बाघको आक्रमणमा परेर ज्यान गुमाएको तथ्यांक छ ।

सोहि तथ्यांकबाट पुष्टि हुन्छकि नेपालमा बाघको संख्या बढेसंगै मानव र वन्यजन्तुबीचमा पछिल्लो समय द्वन्द्व पनि बढ्दै गएको छ । लामो समय बाघ र वन्यजन्तुको निकट रहेर तिनको संरक्षणमा विविध काम गरेका बाघ विज्ञ (नेचुरलिस्ट) कमल अधिकारी मानव र बाघबीचको द्वन्द्वलाई व्यवस्थापन गर्न दिर्घकालीन रुपमा घाँसे मैदानको विकास गर्दै कृतिम ताल तलैयाको निर्माणमा जोड दिनुपर्ने बताउँछन् ।

अधिकारी भन्छन्,‘ एउटा वयस्क बाघलाई प्रतिहप्ता ३० देखि ६० केजी सम्म आहारको जरुरत पर्छ । पहिला पहिला छाडा चौपाया निकुञ्ज आसपास चराउने प्रचलन थियो त्यसबेला बाघले तिनै पशुचैपायालाई मारेर आहार बनाउथ्यो । अहिले त्यो बन्द भएको छ । त्यसकारण बाघले मान्छे र गाउँमा आक्रमण गर्न थालेको छ ।बाघ बस्तीमा पस्नुको कारण पनि आहारकै खोजी गर्न हो ।’ लामो समय बाघको संरक्षण र वन्यजन्तुसंग नजिकिएर नियालेका उनले बाघलाई भद्र जनावर बताएका छन् । सबै बाघले अक्रमण गरिनहाल्ने उनको धारणा छ ।

उनि भन्छन्, ‘मेरो जिवन नै जंगली जनावरसंग रमाउनु हो । मैले कहिल्यै कुनै जनावरलाई जिस्काउँदिन । हुनत म बाघको १० मिटर नजिक सम्म पुगेको छु । साँच्चै भन्नुपर्दा बाघ भद्र भलादमी जनावरमा पर्छ । बुढो बाघले सिकार गर्न सक्दैन्,घाइते,बच्चा लिएर हिँडेको बाघले पनि बच्चालाई जोगाउन असुरक्षित ठान्ने वित्तिकै आक्रमण गरिहाल्छ । र पञ्जामा घाउ भएको बाघले पनि विशेष रुपमा मानवमा आक्रमण गरेको पाइएको छ ।’ उनि बाघ र मानवको द्वन्द्वलाई न्युनिकरण गर्न व्यवस्थित घाँसेमैदान बनाउनुपर्ने र वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नुपर्नेमा जोड दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *