नेकपामा चर्कियो कार्यदिशा विवाद, सहमतिबाट पछि हटे दुर्भाग्यपूर्ण: दाहाल

Sharing is caring!

असार १०, २०७६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि कार्यदिशाबारे शीर्ष तहमा सहमति जुट्न सकेको छैन ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी शर्मा ओलीले एमालेले अवलम्बन गर्दै आइरहेको जबजलाई पार्टीको कार्यदिशा बनाउनुपर्ने बताएसँगै कार्यदिशा विवाद सतहमा आएको हो । ओलीले राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुअघि जबजलाई मानेर जान प्रस्ताव गरेपछि अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री (तत्कालीन माओवादी केन्द्र अध्यक्ष) पुष्पकमल दाहाल झस्किएका छन् । पार्टी एकताका क्रममा भएको सहमतिअनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने उनको अडान छ ।

३ जेठ २०७५ मा दुई पार्टीबीच एकता हुँदा एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो । तत्कालीन एमाले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले २१औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता भएको थियो । दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए ।
अध्यक्ष ओली निकट भनेर चिनिने पार्टी सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसअघि पनि सार्वजनिक कार्यक्रममा जबजको पक्षमा अभिव्यक्ति दिएपछि तत्कालीन माओवादी केन्द्रका नेताहरू झस्किएका थिए ।
पार्टी एकता गर्ने समयमा भएको सहमतिअनुसार जनताको जनवादलाई पार्टी सचिवालय र स्थायी कमिटी बैठकले समेत पारित गरिसकेको छ । तर, सचिवालय र स्थायी कमिटी बैठकले पारित गरिसकेको विषयमा मतभेद सुरु भएपछि त्यसको प्रभाव पार्टी एकताको बाँकी काम टुंगो लगाउनमा परिरहेको छ ।

राजनीतिक प्रतिवेदन सामान्य संशोधनपछि छाप्न पठाउने र दुई दिनपछि सचिवालय बैठक बोलाउने ओली–दाहालबीच शनिबार समझदारी भएको थियो । तर, त्यसयता बैठक नै नबोलाइएको नेकपा स्रोतले जनाएको छ । त्यसपछि दुवैतर्फका नेता बीचमा एक–अर्काेलाई हेर्ने दृष्टिकोण पनि फरक हुँदै गएको छ ।

अध्यक्ष ओलीले यसबीचमा आफू निकटका नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर पछिल्लो घटनाक्रमबारे जानकारी गराएका छन् । सचिवालय सदस्य पोखरेल, महासचिव विष्णु पौडेललगायतका नेता बालुवाटार पुगेका थिए ।

उता अर्का अध्यक्ष दाहालले खुमलटारमा आफू निकटका नेतालाई राजनीतिक कार्यदिशाबारे जानकारी गराएका छन् । नेता वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, हरिबोल गजुरेल, पम्फा भुसाल, देव गुरुङलगायत नेताहरू सहभागी छलफलमा अब कसरी अगाडि बढ्ने बिषयमा समेत छलफल भएको स्रोतले जनाएको छ ।

दाहालले सचिवालय सदस्य बामदेव गौतमसँग छुट्टै छलफल गरेका छन् । यस्तै, अर्का सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापासँग पनि दाहालले छुट्टै गोप्य छलफल गरेका छन् ।

नेकपा वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता सचिवालय र स्थायी कमिटीले पारित गरेका विषयमा सामान्य भाषा सम्पादन गरेर छाप्न पठाउनुपर्ने पक्षमा देखिएका छन् ।

पार्टीको कार्यदिशा विषयमा विवाद सुरु भएपछि चितवन पुगेका अध्यक्ष दाहालले सोमबार पार्टी एकता गर्दा भएका सहमतिको पालना नभए दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् । जिल्ला कमिटी चितवनको शपथग्रहण कार्यक्रमलाई भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले सहमति पालना नगर्नेलाई सबैले खण्डन गर्नुपर्ने बताए ।

‘पार्टी एकता हुँदा जेजे कुरालाई आधार मानेर हस्ताक्षर गरेका थियौं, त्यसबाट पछि हटे दुर्भाग्यपूर्ण हुनेछ,’ दाहालले भने, ‘जसले सहमतिको पालना गर्दैन, जो विचलित हुन्छ, उसलाई सबैले खण्डन गर्नुपर्दछ ।’

पार्टी एकतामा योगदान गर्नेहरूलाई आगामी महाधिवेशनले मूल्यांकन गर्नुपर्ने प्रचण्डको धारणा छ । पार्टीको तत्कालीन कार्यदिशा सम्बन्धीको राजनीतिक प्रतिवेदन तयार गर्न ढिलाइ भएको जनाउँदै उनले पहिला भएको सहमतिअनुसार अब छिट्टै तयार हुने बताए ।

पार्टीको कार्यदिशाका विषयमा विवाद सुरु भएपछि एकताको बाँकी काम टुंगो लगाउने अनिश्चित छ ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा समेत लफडा सुरु भएको छ । पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरूको कार्य विभाजन, विभाग गठन, आयोगको गठन अझै टुंगो लागेको छैन । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद रहेको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *