वित्तीय समावेशिताका लागि महिला बैंक खाता

Sharing is caring!

असार १०, २०७६ । पुरुषहरूको दाँजोमा महिलाहरूको बैंक खाता निकै कम हुनुले वित्तीय समावेशितामा नेपाल निकै कमजोर रहेको देखिन्छ । अहिले सक्रिय बैंक खातामध्ये पुरुषको नाममा ४८ प्रतिशत र महिलाको नाममा २६ प्रतिशत खाता देखिएकाले वित्तीय समावेशितामा अपेक्षित प्रगति हुन नसकेको स्पष्ट हुन्छ ।

यसो हुँदा एकातिर महिलाहरूमा वित्तीय पहुँच कम भएको देखाउँछ भने अर्कातिर यस्तो अवस्था महिला सशक्तीकरणका लागि समेत चुनौती बनेको देखिन्छ ।

महिलाहरूमा वित्तीय पहुँच कम हुनुमा नेपाली समाजमा पारम्परिक रूपमा पुरुषहरूको आर्यआर्जन गर्ने भूमिका, सामाजिक आर्थिक विभेद, रोजगारी र व्यवसायमा महिलाको कमजोर उपस्थिति लगायत कारण छन् । वित्तीय पहुँच नभएका हुनाले नै महिलाहरूमाथि विभेद हुने र उनीहरू पुरुषमाथि आश्रित हुनुपर्ने अवस्था अझै छ । यो विभेदलाई कम गर्न महिलाहरूमा वित्तीय पहुँच पुर्‍याउनु जरुरी हुन्छ ।

हुन त पछिल्ला आँकडा हेर्ने हो भने महिलाहरूको बैंक तथा वित्तीय सस्थामा पहुँच बढ्दै गएको देखिन्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको मानव विकास सूचकांकको २०१७ प्रतिवेदनले पनि यो तथ्य उजागर गरेको छ । अहिले नेपालमा वृद्धभत्ता र एकल महिलालाई लिइने रकम लिन बैंक खाता अनिवार्य गरिएको परिप्रेक्ष्यमा बैंक खाता खोल्ने महिलाको संख्यामा सुधार आउने अपेक्षा गर्न सकिन्छ । यद्यपि पुरुष र महिला खाता संख्याको रहेको अन्तर (ग्याप) अझै फराकिलो छ ।

सरकारले अहिले हरेक नेपालीको बैंक खाता अभियान चलाएको छ । यसले पनि महिलाको बैंक खाता बढ्ने देखिन्छ । अझ अहिले प्रायः सबै बैंकहरूले महिलाका लागि विशेष खाताको व्यवस्था गरेका छन् । त्यसमा थप ब्याज पनि दिने गरेका छन् । यसले महिलाहरूलाई बैकिङ पहुँच मात्र बढाउने होइन, बचत गर्ने बानीको समेत विकास गराउनेछ ।

वित्तीय साक्षरताका लागि सरकारले थेरै नै रकम खर्च गर्ने गरेको छ । तर, यो कार्यक्रमले महिलाहरूलाई बैंक खाता खोल्न, बचत गर्न तथा बचत रकमलाई मुनाफा दिने क्षेत्रमा परिचालन गर्न राम्ररी शिक्षित गर्न भने नसकेको देखिन्छ । महिलालाई मात्रै वित्तीय साक्षरता दिने मात्र नभई उनीहरूलाई बैंक खाता खोल्न तथा बचत गर्न सिकाउन पुरुषहरूलाई पनि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

महिला सशक्तीकरण भनेको कानूनी रूपमा बलियो बनाउनुमात्रै होइन, उनीहरूलाई आर्थिक रूपले स्वतन्त्र बनाउनु पनि हो । नेपालमा महिलाहरूले पैसा कमाए भने पनि वा उनीहरूको हातमा पैसा पर्‍यो भने श्रीमान्लाई नै राख्न दिने चलन अझै विद्यमान छ । यसो गर्दा उनीहरूको कमाइमा पुरुषकै हैकम चल्ने गरेको छ । त्यसैले वित्तीय साक्षरता दिँदा महिलाहरूलाई आफ्नो कमाइको हिसाबकिताब आफै गर्न, खर्च गर्न र बचत गर्न सिकाउनु जरुरी देखिन्छ ।

महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा पनि अघि सारिएको छ । भारत, पाकिस्तान बांगलादेश लगायत मुलुकमा पनि यस्ता बैंक छन् । वित्तीय पहुँच नभएकाले शीप र जाँगर भएर पनि कतिपय महिलाहरूले उद्यम गर्न पाइरहेका छैनन् । सहकारी र लघुवित्तहरूले यसमा केही सहयोग पुर्‍याएका छन् । तर बैंकले भने विनाधितो ऋण पत्याउँदैनन् । महिला बैंकले यो समस्यालाई सम्बोधन गरे वित्तीय पहुँच बढ्नेछ र महिला सशक्तीकरणको अभियानलाई टेवा पुग्नेछ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *