नुम्बुर चिज सर्किट सबैको रोजाईमा पर्दै

Sharing is caring!

साउन २२, २०८० । नेपालमा अहिले बाह्य पर्यटक मात्र होइन देश भित्रै घुम्ने पर्यटकका संख्या पनि दिनदिनै बढ्दै गएको छ । आन्तरिक पर्यटकहरू घुम्ने नयाँ गन्तव्यहरुको खोजी गरिरहेका छन् ।

नयाँ ठाउँ घुम्न चाहने पर्यटकको लागि जटापोखरी र पाँचपोखरी क्षेत्र पद पर्यटनको राम्रो स्थान बन्न सक्छ । रामेछापको गोकुलगंगा तथा उमाकुण्ड गाउँपालिका क्षेत्र समेट्ने जटापोखरी क्षेत्र पछिल्लो समय नुम्बुर चिज सर्किटको नामले परिचित छ । गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा पर्ने रस्नालुदेखि गुम्देलसम्मको क्षेत्र यस सर्किटमा पर्दछ । चौँरीको चिज खाँदै नुम्बुर हिमालको फेदीसम्म पुग्न सकिने भएकोले सो पदमार्गको नाम नै नुम्बुर चिज सर्किट राखिएको हो ।
यस क्षेत्रको भ्रमण पूरै पैदल गर्ने वा छोटो पदयात्रा गर्ने भन्ने कुरा घुम्न आउनेमा भर पर्दछ । रस्नालुबाट चुचुरे हुँदै देउराली निस्किएर घुम्दै जाने वा खहरेभन्दा माथिसम्म यातायात साधनमा गएर सोझै जटा पोखरी जाने भन्ने निर्णय घुम्न आउनेको समय र हिँडाइमा भर पर्दछ ।

यो क्षेत्रको भ्रमणमा शीतल मनोरम प्राकृतिक दृश्यावलोकन, हिउँ, झरना, हिमताल र कुण्डहरूको रमणीय अवलोकन तथा विभिन्न जडीबुटीको अवलोकन गरी, स्वादिलो आलु, चौँरी गोठको बसाईको अनुभव पनि लिन पाइन्छ । हिउँदमा हिउँ, चैत वैशाखमा विभिन्न जातका गुराँस र वर्षामा जताततै हरियाली यस क्षेत्रको विशेषता हो ।

रामेछापको सदरमुकाम मन्थलीदेखि पाँच पोखरीसम्मको यात्रा तीन दिनमा पूरा गरेर फर्कन भ्याइन्छ । गुम्देल लगायतका रामेछापकै अन्य स्थान घुम्न चाहने, लिखु खोलामा निर्माण भइरहेको विभिन्न जलविद्युत आयोजना हेर्न र दोलखाको जिरी, कालिञ्चोक लगायतका स्थानमा जान चाहनेले आफ्ना यात्रा अझ लम्ब्याउन सक्छन्। तामाकोशी नदीको प्रमुख सहायक नदी खिम्ति खोलाको शीरमा छ जटा पोखरी । जटा पोखरीको पनि शीरमा छ पाँच पोखरी ।


गोकुलगंगा गाउँपालिकाको वडा नं १ चुचुरेमा पर्ने जटापोखरी जानको लागि चुचुरेको खहरेबाट पैदल यात्रा सुरु हुन्छ । चुचुरेको देउराली हुँदा जानेले गुम्देलबाट पनि अर्को बाटो समातेर झर्न सक्छन् ।

चुचुरेको खहरेबाट जाँदा भने जटापोखरी–पाँच पोखरी जाने मार्गको अन्तिम मानव वस्ती नै खहरे हो । त्यस पछि सुरु हुन्छ, ठाडो उकालो यात्रा । लेकको चिसो मौसम र मनोरम दृश्यले उकालोमा गर्मीको अनुभूति हुँदैन । लेक नचढेकोलाई भने केही असजिलो हुन्छ । ‘लेक नचढेकाले लसुन बोक्नु पर्छ, लसुनको पोटी खाँदै हिँडेपछि लेक लाग्ने डर कम हुन्छ, मकैको सातु र लसुनको पोटीले लेक लाग्न दिँदैन, अनि अकबरे खुर्सानीले चिसोमा शरीरलाई तातो बनाउँछ’, पूर्व गाउँपालिका उपाध्यक्ष समेत रहेकी चुचुरेकी राधिका श्रेष्ठले भनिन् ।

चार र पाँच घण्टाको उकालो पछि मानेडाँडा पुगिन्छ । डाँडामा बनाइएका माने, खुल्ला चौर, अनि कुहिरो भित्र चरिरहेका चौँरीको दृश्य मनमोहक देखिन्छ । चौँरी गोठमा गोठालाहरूले गर्ने चौँरीको दूध, दही र मोही र दुर्खाको अतिथि सत्कार अझ बिर्सिनसक्नुको हुन्छ ।

मानेडाँडाबाट दुई घण्टाको धेरै तेर्सो र केही उकालो पार गरेपछि जटापोखरी पुगिन्छ । ४ हजार २ सय ५० मिटरको उचाइमा रहेको जटापोखरी हिम ताल नै हो । यहाँ वर्षमा ६ महिना भन्दा बढी हिउँ जम्छ । चैतदेखि भदौ र असोजसम्म मात्र हिउँ पग्लन्छ । नरिवलको जटाको आकारको भएकोले यो पोखरीलाई जटा पोखरी भनिएको स्थानीयको भनाइ छ ।
जटापोखरीको माथि शीरमा पाँच पोखरी पर्दछ । जटापोखरीबाट पाँच पोखरी पुग्न आधा घण्टा लाग्छ । पाँचपोखरीबाट निस्किएको पानी जटा पोखरीमा झर्छ । पाँच पोखरी ४ हजार ६ सय ५ मिटरको उचाइमा छ ।

एउटै पोखरीमा बिच भागहरुमा प्राकृतिक रूपमा उठेका बाँधहरूले पोखरीलाई पाँच वटा कुण्डमा विभाजन गरेको छ । पाँच पोखरीको पनि जमिनमुनिबाटै निस्कन्छ र जटा पोखरीमा झर्छ ।

पाँचपोखरी र जटापोखरी भन्दा पनि माथि जानेले उमाकुण्ड गाउँपालिकाको भूत पोखरी, बहुला पोखरी लगायतका कुण्ड भेट्छन् । सो बाटो हुँदै गुम्देल निस्किएर चुचुरेको देउराली झर्न सकिन्छ । जनै पूर्णिमाको दिन जटा पोखरीमा ठूलो मेला लाग्छ । जनैपूर्णिमाको दिन मेला भर्न रामेछाप , दोलखा, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, ओखलढुङ्गा, सोलु लगायतका विभिन्न स्थानका मानिसहरू पुग्छन् । पोखरीमा नुहाए जनै फेर्ने प्रचलन छ । धामी झाँक्रीहरू पनि आफ्नो मन्त्रमा सिद्धि प्राप्त गर्न ढ्याङ्ग्रो बजाउँदै जनपूर्णिमामा सो ठाउँमा पुग्दछन् ।

पाँच पोखरी क्षेत्र जडीबुटीको भण्डार पनि हो । त्यहाँका हरेक झारपातमा औषधिको गुण छ । लोडसल्ला, सुनापाति, चिराइतो पाखनवेद, ठुलो ओखती, पाँच औँले, जटामसी, विषमार, लगायतका जडीबुटीको भण्डार सो क्षेत्रमा छ । सो क्षेत्रमा परम्परागत रूपमा पालिँदै आएका चौँरी पालनलाई व्यवसायीक बनाउन स्थानीय सरकारले केही काम सुरु गरेका छन् । सो क्षेत्रमा परम्परागत रूपमा गरिँदै आएको चौँरी पालनलाई पकेट क्षेत्रको रूपमा विकास गरी गर्ने काम सुरु गरिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् । त्यसको लागि किसानलाई तालिम र केही अनुदान गाउँपालिकाले दिन सुरु गरेको उनले जानकारी दिए ।


नुम्बुर सर्किट घुम्नको लागि त मनोरम छँदै छ, अन्य हिसाबले पनि त्यतिकै महत्त्वपूर्ण छ । जलविद्युत, जडीबुटी, आलु,चौँरी पालन लगायतको हिसाबले पनि यो क्षेत्र अति महत्वपूर्ण छ । तपाईँ पनि घुम्ने सोचमा हुनुहुन्छ भने एक पटक यो क्षेत्रको भ्रमण गर्ने कि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *