नयाँ बानेश्वरमा युवती बलात्कृत

Sharing is caring!

भदौ ९, २०७५ । घटना भएको झन्डै चार महिनापछि काठमाडौंको नयाँ बानेश्वरमा एक युवतीमाथि बलात्कार भएको तथ्य खुलेको छ । घटनामा संलग्न भएको आरोपमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट पक्राउ परेका छन् ।

विष्टलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले तीन दिनअघि पक्राउ गरेको हो । पीडित युवतीको किटानी जाहेरीपछि प्रहरीले सिंहलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । तर, पर्याप्त प्रमाण नपुगेको भन्दै तारेखमा छाडेको थियो । दबाब बढ्दै गएपछि प्रहरीले सिंहलाई शुक्रबार पुनः हिरासतमा लिएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द काफ्लेले भने बलात्कारको किटानी जाहेरी परेपछि सिंहलाई पक्राउ गरिएको तर, थप तथ्य ल्याउन ढिला हुँदा तारेखमा राखेको बताए । ‘पीडित युवतीले १ भदौमै किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि युवतीसँग सोधपुछ भयो र आरोपीलाई पक्राउ गरियो,’ डिएसपी काफ्लेले नयाँ पत्रिकासँग भने, ‘बयान लिइयो । हामीले युवतीलाई थप तथ्य ल्याउन भन्यौँ । यसमा केही समय लाग्यो । त्यस वेलासम्म पक्राउ परेका विष्टलाई तारेखमा राखेका थियौँ । अहिले भने उनीलाई हिरासतमै लिएर थप अनुसन्धान चलिरहेको छ ।’

पीडित युवतीले भने किटानी जाहेरीपछि पनि प्रहरीले अभियुक्त पक्राउ गर्न विलम्ब गरेको बताइन् । युवतीले भनिन्, ‘निकै साहस गरेर घटनाको उजुरी गर्न प्रहरी कार्यालय पुगेका थियौँ । सुरुमा त प्रमाण नपुगेको भन्दै जाहेरी लिन इन्कार भयो । हामीसँग वकिल पनि थिए । उनको आग्रहपछि किटानी जाहेरी दर्ता भयो । तर, अभियुक्त पक्राउ गर्न प्रहरीले विलम्ब ग-यो । पछि हाम्रै सक्रियतामा अभियुक्त पक्राउ परे । फेरि प्रमाणको खोजी भयो । पक्राउ परेका विष्टलाई तारेखमा छाडिएछ । अहिले उनलाई हिरासतमा लिएको भन्ने सुनेकी छु ।’

विष्टको निरन्तर धम्की
बलात्कारपछि विष्टले मारिदिनेभन्दै लगातार धम्की दिइरहेका थिए । डराएकी उनले घटना सम्बन्धमा कसैलाई भनिन् । जसले विष्टको मनोबल झन् बढायो । युवती तनावमा परिन् । जसले उनलाई एक्लै टोलाउने बनायो । हदै भएपछि युवतीले घटना ब्वाय फ्रेन्ड (केटासाथी)लाई सुनाइन् । आउने मंसिरमा विवाह गर्ने कुरो टुंगो लागेका केटा साथीले युवतीलाई धनगढी जान सल्लाह दिए । तर, टोलाउने समस्या त्यहाँ पनि देखियो ।

अभिभावकले उपचारका लागि अस्पताल लगे । धामी झाँक्री लगाए । अवस्था नसुध्रिएपछि युवतीका ब्वाय फ्रेन्डले घटनाको केही अंश अभिभावकसँग भने । हुँदा–हुँदा विष्टले आफ्नो परिवारका सदस्य प्रयोग गरेर युवतीका अभिभावकलाई धम्काउन थाल्यो । जसकारण उनीहरू बलात्कारको पीडा साढे तीन महिनासम्म सहेर बस्न बाध्य भए ।

अनि जाहेरी दर्ता
हदै भएपछि घटनाबारे प्रहरीमा उजुरी गर्ने सल्लाह भयो । युवती र उनका केटा साथीले घटनाबारे प्रहरीमा उजुरी दिने निश्चित गरे । धनगढीबाट जहाजमा काठमाडौं आई युवती नयाँ बानेश्वर वृत्त कार्यालय पुगिन् । जाहेरी दिन खोजिन् । तर, प्रहरीले जाहेरी लिन मानेन् । वकिलको आग्रहपछि बल्ल जाहेरी दर्ता भयो । सोही जाहेरीका आधारमा बल्ल विष्ट पक्राउ परेका छन् । उनलाई अहिले नयाँ बानेश्वर वृत्तको हिरासतमा राखिएको छ ।

यसरी भयो घटना
बिबिएस अध्ययन सकेर बसेकी युवती अस्ट्रेलिया जान आइएलटिएसको तयारी गर्दै थिइन् । धनगढीबाट वर्ष दिनअघि मात्रै काठमाडौं आएकी उनी नयाँ बानेश्वरमा बहिनीसहित डेरामा बस्थिन् । सोही घरको माथिल्लो फ्यालाटमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० का २४ वर्षीय अनुपसिंह विष्ट बस्थे । बहिनी साइनो लगाएर बारम्बार युवतीको कोठामा छिर्थे । कहिले तरकारी माग्ने निहुले त कहिले मसला पैँचो माग्न जान्थे । २१ वैशाखमा भने उनीसँग बहिनी थिइनन् । ढोका ढप्काएर उनी खाना बनाउँदै थिइन् ।

८ः३० बजेतिर विष्ट भेडे खुर्सानी ‘क्यप्सिकम’ माग्न आए । युवती रयाकमा रहेको खुसार्नी झिक्दै थिइन् । त्यही मौकामा विष्टले ढोकाको चुकुल लगाए । युवतीलाई समाते । मुख थुने । हल्ला गरे मारिदिने धम्की दिए । डराएकी युवती चुपचाप रहिन् । विष्टले मौकाको फाइदा उठाउँदै बलात्कार गरे । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *