तरकारीको मूल्यमा २० प्रतिशतले कमी

Sharing is caring!

भदौ ९, २०७५ । बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा तरकारीको मूल्य २० प्रतिशतसम्म घटेको छ ।
केही समयदेखि नियमितरुपमा सरकारले गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप अहिले कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा कमी आएको हो । पछिल्लो समय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । किसानबाट उपभोक्तासम्म आइपुग्दा चार गुणासम्म मूल्य तिर्न बाध्य भएको भन्ने गुनासो आएपछि गत सोमबार बिहान ३ बजे अनुगमन टोली तरकारी बजार पुगेको थियो ।
गत सोमबार बिहान अनुगमनका लागि खटिएको सरकारी टोलीले जानकारी नै नदिई अनुगमन गर्न आएको भन्दै तरकारी व्यवसायीले विरोध गरी केहीबेर मूल गेट बन्द गरी अनुगमनकर्तालाई थुनेका थिए । सोही दिन गरेको अनुगमनका क्रममा दुई तरकारी गाडीलाई कहाँबाट ल्याएको, कति मूल्यको हो, खरीद मूल्य कति र बिक्री मूल्य कति भनी अनुगमनकर्ताको प्रश्नमा व्यवसायीले उत्तर दिन नसकेपछि ती दुवै गाडीलाई नियन्त्रणमा लिइएको थियो ।
तरकारी गाडी नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले नाराबाजी शुरु गरेका थिए । एक जना व्यवसायीलाई पक्राउ पनि गरिएको थियो । व्यवसायीको नाराबाजीका कारण कालीमाटी बजार क्षेत्र तनावग्रस्त बनी सोमबारदेखि बुधबार बिहानसम्म खुल्न सकेको थिएन । सरकारले किसान र उपभोक्ताबीचकोे मूल्य कायम राख्न दबाब दिएपछि बुधबार दिउँसोदेखि खुलेको तरकारीको मूल्यमा कमी आएको विभागका अनुमगन अधिकृत ढुण्डिराज पोखरेलले जानकारी दिए।
यसअघि औपचारिक रुपमा अनुगमन गरे पनि प्रभावकारी हुन सकेको थिएन । यही भदौदेखि लागू भएको नयाँ कानूनले भने उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारवाही गर्न बाटो खोलिदिएकाले नियमबाहिर रहेको कोही पनि ओझेलमा नपर्ने विभागले दाबी गरेको छ । टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायतका जिल्लामा पुगेर किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबारे अनुसन्धान गरेको थियो । यो खबर आजको कारोबारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *