धरहरा पुनर्निर्माणले आजदेखि औपचारिकता पाउँदै

Sharing is caring!

पुस १२, २०७५ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा २०७२ साल फागुन ४ गते ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब धरहरा पुनर्निर्माणका लागि उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैंले धरहरा पुनर्निर्माणको शिलान्यास गर्नुहुने भएको छ।

प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शिलान्यासको सम्पूर्ण व्यवस्था गरेको छ। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले धरहरा ध्वस्त भएको थियो।
६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुने भएको छ।

पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो। एक महिनाअघिबाट काम शुरू गरेको कम्पनीले हाल धरहरा पुरानो धरहरा रहेको क्षेत्र, नेपाल बैंकको पुरानो कार्यालयलाई छेकबार गरेको छ। ‘अहिले नेपाल टेलिकम र खानेपानीको लाइन हटाउने काम भइरहेको छ, प्रधानमन्त्रीज्यूले शिलान्यास गरेपछि थप काम अघि बढाउनेछौं।’ –कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो।

उहाँले ४२ रोपनीमध्ये हालसम्म १० रोपनी जग्गामात्र प्राप्त भएकाले काम गर्न समस्या भएको बताउँदै भन्नुभयो– ‘सम्पूर्ण जग्गा नआएसम्म काम गर्न समस्या देखिएको छ। टेलिकम र खानेपानीको पाइप व्यवस्थापन गर्न अझै २५ दिनजति लाग्न सक्छ। अहिले दुईतले वेसमेन्टको काम भइरहेको छ।’

कम्पनीले अहिले धरहरा परिसरलाई कम्पाउन्डिङ गर्ने, र ठुटो धरहरालाई संरक्षण गर्ने काम गरिरहेको श्रेष्ठले बताउनुभयो। कम्पनीलाई सहजरूपमा धरहरा निर्माण गर्न आवश्यक पर्ने जग्गा चाँडै उपलब्ध गराइदिन सरकारले पहल गर्नुपर्ने उहाँले बताउनुभयो।

प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जग्गाको प्राप्तिको काम भइसकेको र केही प्रक्रिया पूरा हुन बाँकी रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘आज शिलान्यास भएपछि कुनै पनि काम रोकिँदैन, तोकिएकै समयमा निर्माण सम्पन्न हुने गरी काम हुनेछ।’
कम्पनीले करिब साढे ३ अर्ब रुपियाको लागतमा धरहरा निर्माण गर्ने ठेक्का पाएको थियो। अवको धरहरा ११ तलाको हुने भएको छ। बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ। त्यसपछि हुलाक सेवा विभाग र टक्सारको जग्गा ओगटेर फाउण्डेशन, पार्क, वेसमेन्ट निर्माण गरिने भएको छ।

नया बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ। अपाङमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने भएको छ। दुई वटा लिफ्ट सहितको नया संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था गरिने भएको छ।

नयाँ धरहरा पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिने भएको छ। गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुने छ। पुनर्निर्माण हुने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै बनाइने भएको छ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *