जलविद्युतमा जनतालाई सेयर, तीन खर्ब रुपैयाँ बढीका आयोजना निर्माण तयारी

Sharing is caring!

कात्तिक १५, २०७५ । नेपाल विद्युत् प्राधिकरणले जनतालाई सेयर दिनेगरी ३ खर्ब रुपैयाँभन्दा बढी लागत भएका जलविद्युत् आयोजना निर्माण अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्रमा हाल धेरैवटा आयोजना सेयर निष्कासनको तयारीमा रहेको भन्दै प्राधिकरणले यस्तो जानकारी गराएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ती आयोजना जनताको लगानीमा बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुरूप विद्युत् प्राधिकरणले यो योजना अगाडि बढाएको हो ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष सेयर वर्षका रूपमा मनाउन लागिएको बताए । ‘८३० मेगावाटको माथिल्लो अरुण, दूधकोसी, तामाकोसी पाँचौंलगायतका आयोजनामा लगानी हुने इक्विटीको ४९ प्रतिशतमा जनताको लगानी सुनिश्चित गरिनेछ,’ घिसिङले भने ।

कार्यकारी निर्देशक घिसिङले ती आयोजनामा सर्वसाधारणको ४९ प्रतिशत सेयर सुनिश्चित हुनेगरी १८ सय मेगावाटका आयोजना तत्काल अगाडि बढाउन लागिएको जानकारी दिए । ती आयोजना निर्माणका लागि छिट्टै टेन्डर आह्वान गरिने उनले बताए । घिसिङले भने, ‘विश्व बैंक, एसियाली विकास बैंक पनि यो मोडलमा लगानी गर्न तयार छन्, उनीहरूबाट लिने ऋण सस्तो हुँदा कस्ट अफ फन्ड कम हुँदा आयोजना पनि सस्तो पर्छ ।’

माथिल्लो तामाकोसी, चिलिमेको अगुवाइमा निर्माण भइरहेका तीन–चारवटा आयोजनामा १ खर्बभन्दा इक्विटी र ऋण स्वदेशी लगानीबाट भएको उल्लेख गर्दै घिसिङले यसबाट जलविद्युत् आयोजना निर्माणमा स्वदेशी लगानी जुटाउन सकिने पुष्टि भएको बताए । ‘२२ मेगावाटको चिलिमेले २७० मेगावाटका आयोजना अगाडि बढाउन सफल भएको छ, ४५६ मेगावाटको आयोजना सम्पन्न भएपछि हजारौं मेगावाटका आयोजनामा पुनर्लगानी गर्न सकिन्छ,’ उनले भने । यसको सुरुवात मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयरबाट हुँदै छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्दै छ । आगामी २८ कात्तिकबाट सेयर निष्कासनको तयारी थालिएको छ ।

यही अवधारणाअनुरूप पछिल्लो समय जलविद्युत् विकास, प्रसारण लाइन निर्माण, आन्तरिक विद्युत् खपत, विद्यमान समस्याको दिगो समाधानका उपायलगायत विषयमा तीव्र रूपमा काम हुन थालेको छ । देशको आर्थिक समृद्धिका लागि ऊर्जा, जलस्रोत, कृषि, पर्यटन तथा औद्योगिक विकास उत्तिकै प्राथमिकतामा छन् । तीन वर्षमा ३ हजार मेगावाट, पाँच वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी घोषणा छ ।
पछिल्लो समय वितरण प्रणालीमा रहेको समस्यासमेत समाधान गर्ने प्रयास गरिएको छ । ती प्रयासको प्रतिफल एकाध वर्षमा देखिने ऊर्जामन्त्री पुनको विश्वास छ ।

पाँच वर्षभित्र ‘हरेक घर, ऊर्जा घर’ बनाउने प्रतिबद्धता जनाउँदै ऊर्जामन्त्री पुनले भने, ‘सरकारले पाँच वर्षभित्र हरेक नागरिकका घरमा विद्युत् पु¥याउने बाचा सरकारले गरेको छ, सोहीअनुरूप काम हुन्छ ।’
यसका लागि जलविद्युत्देखि सौर्यलगायत स्रोत उपयोग गर्ने सरकारी योजना छ । यसका लागि केही काम सुरु पनि भइसकेका छन् । घरायसी प्रयोगबाट बचेको ऊर्जा राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर यसबाट आर्थिक उपार्जन गर्न सकिने वातावरण सिर्जना गर्ने सरकारी तयारी छ । प्रसारण लाइन निर्माणमा आइपर्ने जग्गाप्राप्ति समस्या समाधान गर्न प्रभावितलाई सेयर दिने योजनासमेत सरकारले अगाडि बढाइसकेको छ । नेपाल विद्युत्् प्राधिकरणका अनुसार हाल निजी क्षेत्रका करिब ३ हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । यीमध्ये केही आयोजना निर्माण सम्पन्न भइसकेका छन् भने केही सम्पन्न हुनेक्रममा छन् ।यो खबर राजधानीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *