चालकको लापरबाहीले दुर्घटना बढयो

Sharing is caring!

जेठ १२, २०७५ । काभ्रेबाट काठमाडौं जाँदै गरेको बा३ख ६६७४ नम्बरको ट्रिपरले स्कुटरलाई बुधबार ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भयो ।

सूर्यविनायक नगरपालिका ९, पलाँसेमा बा५६प १२२७ नम्बरको स्कुटरलाई ट्रिपरले पछाडिबाट ठक्कर दिँदा मध्यपुर थिमि १, लोकन्थलीका ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, मेलुङ गाउँपालिका ६, दोलखा घर भई सोही स्थान बस्ने ३२ वर्षीया सविता घिमिरे र उनका १३ वर्षीय छोरा अरबिनको मृत्यु भएको हो । दुर्घटनापछि फरार धादिङ थाक्रे घर भई काठमाडौं थानकोट बस्ने ३० वर्षीय ट्रिपर चालक सञ्जीव सूचीकारलाई प्रहरीले बुधबार राति नै नियन्त्रणमा लिएको छ ।

त्यस्तै, गत वैशाख १ को राति सूर्यविनायक ९, नलिन्चोक बाँसघारीमा ४८ वर्षीय रामहरि भुजेल घाइते अवस्थामा भेटिए । भुजेलको मध्यपुर अस्पतालमा उपचारकै क्रममा सोही दिन मृत्यु भयो । पैदल यात्रु भुजेललाई ठक्कर दिई फरार बा४ख २९३४ नम्बरको ट्रक प्रहरीले सातादिनपछि नियन्त्रणमा लिन सफल भयो । प्रहरीका अनुसार बेलकोट नगरपालिका १२ घर भई बालाजु बस्ने ५१ वर्षीय ट्रक चालक मोहनबहादुर अधिकारीलाई सवारी ज्यान मुद्दाअन्तर्गत कारबाही भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समय सडक दुर्घटनामा ट्रक/ट्रिपरका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । महाशाखाको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा ट्रक/ट्रिपरबाट मात्रै मृत्यु हुनेको संख्या ३४ छ । अघिल्लो आव ०७३/७४ मा उपत्यकाभित्र सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या १ सय २८ छ । जसमध्ये ट्रक/ट्रिपरका कारण ६४ जनाले ज्यान गुमाएको उल्लेख छ ।

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार दुर्घटनाको प्रमुख कारण ट्रक/ट्रिपर चालकको लापरबाही हो । अधिकांश ट्रिपर तीव्र गतिमा कुदाउँदा दुर्घटना हुने प्रहरीले जनाएको छ । यसको सिकार साना सवारीसाधन हुने गरेका छन् । ‘दुर्घटना अन्य सवारीमा पनि भइरहेका छन्,’ वृत्त प्रमुख दीपक श्रेष्ठले भने, ‘ट्रिपरको दुर्घटनामा ज्यान जोगिने सम्भावना न्यून रहन्छ ।’ दुर्घटना न्यूनीकरणकै लागि बुधबारबाटै टाइमकार्ड लागू गरिएको पनि उनले जनाए ।

‘दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही देखिन्छ,’ उनले भने, ‘तर सबै दोष चालकलाई थोपर्न मिल्दैन । सडकको अवस्था, ट्रिपरको बनावटले पनि दुर्घटनामा सहयोगी भूमिका खेलेका छन् ।’ धेरै ट्रिप गरी बढी कमाउन चालकले तीव्र गतिमा चलाएका कारण दुर्घटना बढेको श्रेष्ठको भनाइ छ ।

अत्यधिक भारका कारण ट्रिपर दुर्घटना भइरहेको वाग्मती ट्रिपर व्यवसायी संघका तत्कालीन अध्यक्ष शेरबहादुर कुँवर बताउँछन् । ‘उपत्यकामा निर्माण सामग्रीको माग धेरै हुँदा अधिकांश ट्रिपरले मापदण्डभन्दा बढी भार बोक्छन्,’ उनले भने, ‘ओभर लोडकै कारण दुर्घटना भइरहेका छन् ।’ संघका अनुसार उपत्यकामा ७ हजार जति ट्रिपर दर्ता छन् । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अनुगमन नगर्दा ६ चक्के ट्रिपरले ७ दशमलव ५ घनमिटर भार बोक्नुपर्नेमा १२ घनमिटरसम्म बोकिरहेका छन् । त्यस्तै १० चक्के ट्रिपरले १२ घनमिटर बोक्नुपर्नेमा २० घनमिटरसम्म बोक्ने गरेका छन् । ‘बढी भार बोकेका सवारीको ब्रेकले काम गर्दैन । त्यसैले कहिलेकाहीं गम्भीर प्रकृतिको दुर्घटना हुन्छ,’ कुँवरले भने । ट्रिपर चालकलाई दुर्घटना न्यून गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठको भनाइ छ ।

राज्यले लाइसेन्स वितरणमा कडाइ गर्नुपर्ने व्यवसायी बताउँछन् । सरकारले लाइसेन्स वितरणको नाममा लिखित तथा ट्रायललाई मान्यता दिँदै आएको र दक्षतामा ध्यान नदिएको कुँवर बताउँछन् । ‘सरकारले लाइसेन्स वितरण गर्नुअघि तालिमको व्यवस्था गर्नुपर्छ ।’ पछिल्लो समय हेभी गाडी चलाउने चालकको अभाव हुँदै गएको र व्यवसायीले दक्षतालाई ध्यान दिन नसक्ने भएकाले पनि ट्रक/ट्रिपर दुर्घटनाको संख्यामा वृद्धि भएको उनले बताए । प्रहरीका अनुसार चालक सुध्रिने हो भने दुर्घटनामा ९० प्रतिशत कमी आउनेछ । ट्रिपर अन्य सवारीको तुलनामा बलियो र ठूलो हुने भएकाले चालकले सामान्य ठोक्किँदा आफूलाई असर गर्दैन भन्दै बेतोड कुदाउने गरेको पाइन्छ ।

दुर्घटना गराउने चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ अनुसार कारबाही हुँदै आएको छ । कानुनमा सजायदेखि सर्वस्वसहित जन्मकैदको व्यवस्था भए पनि अधिकांश चालकलाई निश्चित जरिवाना गराएर ३५ दिन जेलमा राखी मुक्त गरिन्छ । ‘दुर्घटना गराउने चालकलाई कडा कानुनी प्रावधानले कारबाही नगर्दा दुर्घटना रोकिएको छैन,’ अधिवक्ता किरण न्यौपानेले भने । स्थानीयले भने मालवाहक सवारीसाधनलाई राति ९ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गराउन सरकारसमक्ष माग गर्दै आएका छन् ।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *