गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन ठेलामा बदाम, पानी, मःम, बिक्री शुरु

Sharing is caring!

पुस ३, २०७६ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुरयाउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ  ।

रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिए । उनका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु बिक्री गरिने उनले जानकारी दिए ।

गत आइतबारबाट ठेला पसल सञ्चालनमा ल्याइएको हो ।  सोमबार रु तीन हजार ३०० बचत भएको छ ।  रङ्गशाला निर्माण सहयोगार्थ भएकाले घुम्न आउने धेरथोर किनेर सहयोग गर्न शुरु गरेका छन् । रङ्गशालाभित्र भ्यू टावरबाट हेर्नका लागि रु २० को टिकट लाग्ने व्यवस्था गरिएको छ  । एकै दिन दुई हजार २०० जनासम्मले टिकट खरीद गरी रङ्गशालाको अवलोकन गरेका छन् ।

पछिल्लो समय विद्यार्थी, सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घ संस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुनेगरी नक्शाङ्कन गरिएको छ । रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामाकरण गरिएको उनले जानकारी दिए ।

निर्माणको काम तीव्र भए पनि आर्थिक सङ्कलन भने खासै हुन सकेको छैन । रु आठ करोडको हाराहारीमा बोलकबुल भएकोमा रु एक करोड मात्र सङ्कलन भएको  छ । हालसम्म विभिन्न क्षेत्रबाट बोलकबुलको बाहेक रु तीन करोड सङ्कलन भएको उनले बताए ।

रङ्गशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान छ । यद्यपि श्रमदान र अन्य सामग्रीको सहयोग भएमा त्यति खर्च नलाग्ने फाउण्डेशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *